Logo

मेघनाथ पहाडी

पुस ६, २०७९ बुधबार

आन्तरिक पर्यटनमा जोड दिनेछौं: नगर प्रमुख जिरेल


काठमाडौँ । दोलखा जिरी नगरपालिका प्रमुख मित्र बहादुर जिरेलले पर्यटन क्षेत्र तर्फ आन्तरिक पर्यटनमा जोड दिने बताएका छन् । विदेशी पर्यटक कम हुँदै गएपछि आन्तरिक पर्यटक भित्र्उने तयारी रहेको प्रमुख जिरेलको भनाई छ ।

सदरमुकाम चरिकोटबाट जिरी पुग्ने सहज बाटो निर्माण भएसँगै पर्यटकीय स्थल जिरीमा आन्तरिक पर्यटकका लागि आकर्षण बढाउनका लागि विभिन्न कामहरु भइरहेको छ । जिरी वडा नं १ को खिम्ती खोला किनारमा स्टोन पार्क तयार भएको छ । गुरु रिम्पोछेको मूर्ति तयार हुँदैछ । यो तयार भएपछि बुद्ध धर्मावलम्बीहरू आउँछन् भन्ने विश्वास रहेको प्रमुख जिरेल बताउँछन् ।

उनले भने, “जिरी तालको डीपीआर तयार भएर प्रदेश सरकारले १५ करोड रुपैयाँ बजेट पनि विनियोजन गरेको छ । चेर्दुङ्ग एकीकृत विकास परियोजनाअन्तर्गत विभिन्न काम गरिरहेका छौं । खावाबाट गुराँस पार्कहुँदै गुरु रिम्पोछेको मूर्तिसम्म साइकल तथा हाइकिङका लागि बाटो बनाउने काम भइरहेको छ । यी सबै तयार भएपछि विस्तारै मान्छेको चहलपहल बढ्छ भन्ने लागिरहेको छ ।”

विगतमा जिरी सरगरमाथा जाने प्रमुख थलोका रुपमा परिचित थियो । जसकारण सगरमाथा आउने जाने पर्यटकहरु जिरी हुँदै आउने हुँदा त्यहाँको पर्यटन व्यवसाय राम्रै थियो । तर समयको परिवर्तनसँगै विदेशी पर्यटक आउन छाडेको प्रमुख जिरेल बताउँछन् ।

उनका अनुसार, जिरी पुग्ने बाटो दुई–तीन वर्ष अगाडिसम्म अत्यन्तै खराब थियो । यस कारण आन्तरिक पर्यटकको संख्या पनि घट्यो । विदेशी पर्यटक कम हुँदै गएपछि आन्तरिक पर्यटकलाई आकर्षित गर्ने बनाउनुपर्ने पूर्वाधार पनि समयमा बनेना ।

प्रमुख जिरेलले जिरीको पहिचान फेरिने पनि बताएका छन् । शहरमा बस्ने मान्छेका लागि अर्गानिक खाना खान पाउने ठाउँका साथै मनमोहक दृश्यावलोकन गर्न पाइने ठाउँका रुपमा जिरीलाई विकास गर्ने प्रमुख जिरेलले बताएका छन् ।