Logo

बागमती पेज

माघ ६, २०७९ शुक्रबार

सुस्मिता केसीको हत्यामा संलग्न परिवारका चारजनालाई जन्मकैदको फैसला


काठमाडौं । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ की २४ वर्षीया सुस्मिता केसीको हत्या भएको करिब साढे २ वर्षपछि हत्यामा संलग्न चारजनालाई जिल्ला अदालत मकवानपुरले जन्मकैदको फैसला गरेको छ।

अदालतले शुक्रबार सुस्मिताका ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा, ज्वाइँ अरुण कार्की र कान्छी नन्द सीता थापालाई हत्याको कसुरदार ठहर गरी जन्मकैद अर्थात जनही २५ वर्षको कैद हुने फैसला गरेको हो।

यस्तै, अदालतले सासु तुलसा थापालाई हत्याको मतियार ठहर गरी १० वर्षको जेल सजाय तोकेको छ। जिल्ला अदालत मकवानपुरका न्यायाधीश श्रीप्रसाद सन्जेलको एकल इजलासले उक्त फैसला गरेको हो।

गत पुस २१ गते बिहीबार नै पाँचैजना अभियुक्तलाई अदालतले दोषी ठहर गरेको थियो। अदालतले मृतक सुस्मिताको सासु, ससुरा, दुईजना नन्द र जेठी नन्दका श्रीमानलाई दोषी करार गरेको थियो।

जाहेरवालाको तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालय मकवानपुरका जिल्ला न्यायधिवक्ता मुकुन्दहरी पौडेल, जिल्ला सहायक न्यायधिवक्ता राजेन्द्रमणि पौडेल, अधिवक्ताहरु राजेन्द्र शर्मा, मदनकुमार दाहाल, मनप्रसाद भट्टराई, अप्सरा बस्नेत, बालकृष्ण अधिकारीले बहस थिए भने प्रतिवादीतर्फका आधा दर्जन अधिवक्ताले बहस गरेका थिए।

कपिलवस्तु वाणगंगा नगरपालिका माइतीघर भएकी सुस्मिताका पति रुपेन्द्र थापाको २०७६ असोज २३ गते मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो।

उनीहरूको विवाह २०७६ वैशाख १८ गते भएको थियो। पतिको दुर्घटनामा मृत्यु भएपछि पतिको नाममा रहेको बिमा रकम हात पार्नका लागि हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको थियो। तर ससुराले सुस्मिताको हत्यालाई आत्महत्या देखाउने प्रयास गरेका थिए। मृतक सुस्मिताको बुबाकृष्णबहादुर केसीले २०७७ असार २९ मा पाँचजनाविरुद्ध मुद्दा दर्ता गराएका थिए।