Logo

बागमती पेज

फाल्गुन ४, २०७९ बिहीबार

सिंहलाई आईजीपी बढुवामा पछि पार्न षड्यन्त्र


काठमाडौँ । शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र देखाएर जागिर खाएको भन्दै प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। आईजीपी बढुवामा रोक्नका लागि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र देखाएको आरोपमा उनिमाथी उजुरी परेको हो ।

डिआइजी अशोक सिंह निकट स्रोतका अनुसार एक व्यक्तिले फर्जी विवरण पेश गर्दै अख्तियारमा उजुरी दिएका हुन्। निवेदकले डिआइजी सिंहले हुँदै नभएको योग्यता देखाई, नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रको आधारमा २८ वर्षसम्म जागिर खाएको, नागरिकतामा उमेर सच्याई जागिर खाएको उल्लेख गरेका छन्।

उजुरी पत्रअनुसार डिआइजी सिंहले २०५१ साल चैत ५ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा नियुक्ति लिएका थिए। हाल उनी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी, कैलालीमा प्रहरी नायब महानिरीक्षक पदमा कार्यरत छन्।

प्रहरीमा जागिर खानकै लागि डिआइजी सिंहले जारी नागरिकतामा उमेर सच्याएर गैर कानुनी तरिकाले नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा नियुक्ति लिएको जिकिर निवेदकको छ।

अशोक सिंहको वास्तविक नाम अशोक सिंह बोगटी भएको तर प्रहरी प्रधान कार्यालयको तीन पुस्ते रेकर्डमा अशोक सिंह मात्र रहेको समेत निवेदनमा बताइएको छ। सिंहले पढ्दै नपढी भारतको लखनउबाट नक्कली प्रमाणपत्र ल्याएको आरोप लगाइएको छ ।

गत पुस २८ गते गृह मन्त्रालयको स्वीकृति लिएर प्रहरी प्रधान कार्यालयले १७ जना डिआईजी र २४ जना एसएसपीको काज सरुवा गरेको थियो। अहिले डिआईजी पदमा रहेका मसाउद आलम खाँ, नलप्रसाद उपाध्याय, मोहनकुमार आर्चाय आईजीपी सिंहकै ब्याजी हुन्। प्रहरी नियामावली अनुसार बढुवाको लागि कार्यसम्पादन मूल्यांकन पनि हेर्ने गरिन्छ। खाँ, उपाध्याय र आर्चायसँगै एआईजी बढुवाको प्रतिस्पर्धामा अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, बसन्तबहादुर कुँवर, टेकप्रसाद राई प्रतिपर्धामा छन्।

डीआईजीहरु अशोक सिंह, दीपक थापा, वसन्त कुँवर र टेकप्रसाद राई, बढुवा हुने करिब निश्चित छ। यस्तै श्यामलाल ज्ञवाली, किरण बज्रचार्य र मीरा चौधरी मध्येबाट पनि एक जना बढुवा हुनेछन्।

खाँ, उपाध्याय र आचार्य आगामी चैत १० मा अनिवार्य अवकाशमा जाँदैछन्। एआईजीमा बढुवा नभए उनीहरू डीआईजीबाटै अवकाश पाउनेछन्। कार्य सम्पादनमा अब्बल मानिएका सिंह एआईजी हुँदै आईजीपीमा बढुवा हुने सम्भावना नजिकिए पछि उनलाई रोक्न अनेक प्रपन्च रचना थालिएको सिंह निकट स्रोतले बतायो। काठमाडौँ हुँदा अब्बल कार्यक्षमता प्रदर्शन गरेका सिंहले सुदुरपश्चिममा गरेको लागु औषध तथा अपराध नियन्त्रणको प्रयासबाट उनका विरोधीहरु आत्तिएको उनले बताए ।

आजबाट एआईजी पूजा सिंह पनि अवकाशमा जानेछिन्। सिंह फागुन ३ गते अवकाश भएसँगै नेपाल प्रहरीमा रिक्त एआईजीको संख्या ५ पुग्नेछ। यसअघि विश्वराज पोखरेल, मुकुन्दराज आचार्य, अरुणकुमार बिसी र रवीन्द्र धानुक अवकाश भएका थिए।