Logo

बागमती पेज

फाल्गुन १०, २०७९ बुधबार

दोलखा महोत्सवको तयारी तीव्र, ५० हजार पर्यटक आउने अनुमान 


काठमाडौँ । कृषि व्यापार पर्यटन र पूर्वाधार, समृद्ध दोलखा निर्माणको आधार भन्ने मूल नाराका साथ दोलखाको सदरमुकाम चरिकोटमा भव्य महोत्सव हुन लागिएको छ । भीमेश्वर नगरपालिका प्रमुख ईश्वर नारायण मानन्धरको संयोजकत्वमा आगामी फागुन १९ गतेदेखिे दोलखा महोत्सव २०७९ हुन लागेको हो । 

दोलखा चेम्बर अफ कमर्स दोलखाले फाल्गुन १९ गतेदेखि २७ गते सम्म ९ दिन सम्मका लागि महोत्सव गर्न लागेको हो । हिमाली जिल्ला भनेर चिनिने दोलखामा कोरोना कालदेखीनै पर्यटन व्यवसायमा प्रभाव पर्दे आएको छ । यस वर्ष पनि सिजनमा हिउँ नपरेका कारण पर्यटन व्यवसाय ठप्प हुँदै आएको छ । 

दोलखामा खस्कँदो व्यवसायलाई लयमा फर्काउन र आर्थिक चहलपहल बढाउनका लागि महोत्सवको आयोजन गर्न लागिएको भीमेश्वर नगरपालिका प्रमुख ईश्वरनारायण मानन्धरले बागमती पेजलाई बताएका छन् ।  

त्यस्तै दोलखा चेम्बर अफ कमर्सका उपाध्यक्ष रुद्र जङ्ग बुढाथोकीले स्थानीय स्तरका उत्पादन, घरेलु उत्पादन लगायत मौलिक पन्चेबाजा, र भजन खैजडी बाजाको संरक्षण तथा प्रबद्र्धनका गर्नु महोत्सवको उद्देश्य रहेको जनाए । 

आन्तरिक तथा बाह्य पर्यटक भित्र्याई कृषि तथा आर्थिक क्षेत्र उकास्न, र जिल्लालाई समृद्ध बनाउन महोत्सवले सहयोग पुर्‍याउने उपाध्यक्ष बुढाथोकीले बताए । 

महोत्सवमा विज्ञान प्रदर्शनलाई (रोबट) मुख्य आकर्षणमा राखिएको छ । त्यस्तै दोलखावासीका लागि शेयर अभौतिक करण शिविर समेत राखिने व्यवस्था रहेको छ ।

आर्थिक, कृषि, पशु, पर्यटन र जिल्लामा जलविद्युतको सम्भावनाको बारेमा बहस छलफलका साथै माउन्टेन फ्लाइटमार्फत जिल्लाका मनोरम स्थलका अवलोकन गर्न सकिने उपाध्यक्ष बुढाथोकीले जानकारी दिए ।

महोत्सवमा करिब ५० हजार आन्तरिक पर्यटन आउने आङ्कलन गरिएको छ । जिल्लाका विभिन्न जातजातिले पहिचान सहितको झाँकी प्रस्तुत गर्नेछन् भने राष्ट्रिय स्तरका कलाकारहरूको उपस्थिति रहने छ । महोत्सवमा स्थानीय स्तरमा उत्पादन कृषि ,पशु, कपडा लगायतका सामाग्री प्रस्तुत गरिने छ ।