Logo

भवानी कार्की

फाल्गुन १२, २०७९ शुक्रबार

६ करोड लागतको कोल्ड स्टोर शैलुङमा प्रयोग विहीन


काठमाडौँ । दोलखाको शैलुङ गाउँपालिका वडा नं ३ बोत्लेमा कोल्ड निर्माण भएको केही समय बितिसक्दा पनि प्रयोगमा आउन सकेको छैन । करिब ६ करोड लागतमा बनेको कोल्ड स्टोर पालिकामा उत्पादन नहुँदा प्रयोग विहीन बनेको हो ।

५ सय मेट्रिक टन क्षमताको उक्त कोल्ड स्टोर नेपालकै सबैभन्दा ठुला कोल्ड स्टोर हो । जुन अहिले रित्तो छ । प्रयोग विहीन सो स्टोरलाई कसरी प्रयोग गर्ने सम्बन्धमा शैलुङ गाउँपालिका अन्योलमा परेको छ । भण्डारण गर्ने गरी उत्पादन नभएका कारण निर्माणको लामो समय बितिसक्दा पनि स्टोर अस्तव्यस्त अवस्थामा रहेको छ ।

विशेष गरी शैलुङ गाउँपालिकामा आलु, किवी, र हरिया तरकारीमा साग, बन्दा, काउली तथा फलफूलको उत्पादन हुन्छ । किसानले उत्पादन गरेका तरकारी तथा फलफूल धेरैजसो बारी बाटै बिक्री वितरण हुने र स्टोरमा राख्ने गरी उत्पादन नभएको कारण कोल्ड स्टोर खाली रहन पुगेको शैलुङ गाउँपालिका अध्यक्ष रिमलबाबु श्रेष्ठको भनाई छ ।

उनले भने, शैलुङमा अहिले उत्पादन नै छैन । भएको उत्पादनलाई किसान आफैले व्यवस्थापन गर्नुहुन्छ जस कारण कोल्ड स्टोर रित्तो छ, यसलाई प्रयोगमा ल्याउने सम्बन्धमा छलफल गर्दछौँ ।

एकातर्फ कोल्ड स्टोर खाली छ भने अर्कातिर वार्षिक १५ लाख कोल्ड स्टोरबाट घाटा हुने अध्यक्ष श्रेष्ठको भनाई छ । कोल्ड स्टोरमा हरेक प्रकारका तरकारी तथा फलफूल राख्ने छुट्टा छुट्टै खण्डहरू छन् तर उत्पादन नभएको कारण कोल्ड स्टोर प्रयोग विहीन बनेको छ ।

किसानहरूले उत्पादन गरेको तरकारी बजार अभावका कारण किसानले नोक्सान व्यहोर्नु परेको भन्दै सुरक्षित भण्डारणका लागि स्टोर निर्माण गरिएको थियो । पूर्व गाउँपालिका अध्यक्ष भरत दुलाले किसानको समस्यालाई मध्यनजर गर्दे बजार व्यवस्थापन नहुन्जेल सम्म तरकारी तथा फलफूल व्यवस्थापनका लागि बागमती प्रदेश सरकार तथा कृषि मन्त्रालयको सहयोगमा स्टोर निर्माण गरेका थिए ।

शैलुङ गाउँपालिका र छिमेकी जिल्लाहरू रामेछाप र सिन्धुपाल्चोकलाई समेत लक्षित गरी कोल्ड स्टोर निर्माण गरिएको पूर्व गाउँपालिका अध्यक्ष दुलाल बताउँछन् ।

पूर्व अध्यक्ष दुलाल भन्छन्, किसानले उत्पादन गरेका तरकारी तथा फलफूल बजार अभावका कारण खेर जाने समस्यालाई मध्यनजर गरी कोल्ड स्टोर निर्माण गरिएको हो । यस स्टोरलाई शैलुङ मात्र नभएर सिङ्गो दोलखा जिल्लाका पालिकाहरू तथा छिमेकी जिल्लासँग पनि समन्वय गरेर प्रयोगमा ल्याउन सकिन्छ ।

त्यस्तै अन्य कृषि सङ्घ संस्था, कृषि सहकारीहरूले समन्वय गरेर पनि कोल्ड स्टोर प्रयोगमा ल्याउन सकिने पूर्व अध्यक्ष दुलालको भनाई छ ।

शैलुङका स्थानीय कृष्णधोज तामाङले शैलुङमा कोल्ड स्टोर आवश्यक नै नरहेको बताए । तामाङ भन्छन् , कोल्ड स्टोर नहुँदा पनि शैलुङवासीको जीविका चलेकै थियो । अहिले भएर पनि किसानले प्रयोग गर्न नपाउनु दुर्भाग्य हो । कोल्ड स्टोर जहाँ निर्माण हुनुपर्ने हो त्यहाँ हुन सकेन त्यस कारण प्रयोग विहीन भयो ।

शैलुङको मुख्य उत्पादन आलु हो । पालिकाले आलु लगायत अन्य उत्पादनमा वृद्धि ल्याउन ठोस कदम चाले कोल्ड स्टोर प्रयोगमा आउन सक्ला, उनले थपे ।