Logo

बागमती पेज

चैत्र १३, २०७९ सोमबार

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल


काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री स्वर्गीय नविन्द्रराज जोशीको दोस्रो स्मृति दिवसका अवसरमा काठमाडौँ महानगरपालिका–१९ यट्खा कुमारी मन्दिर परिसरमा निर्माण गरिएको जोशीको अर्धकदको प्रतिमा अनावरण कार्यक्रममा बोल्दै सो धारणा व्यक्त गरेका हुन् ।

“जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरुको सुख, दुःख बुझ्ने जोशी समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत व्यक्तित्व हुनुहुन्थ्यो”, उहाँले राष्ट्रपति पौडेलले भने । राष्ट्रपति पौडेलले जोशीको असामयिक निधन मुलुक, नेपालको प्रजातान्त्रिक आन्दोलन, एउटा सिद्धान्तनिष्ठ राजनीतिक सङ्गठन, जोशी परिवार र आफ्नो लागि अपुरणीय क्षति भएको बताए ।

उहाँले जोशीको निष्ठा, प्रगतिशील दृष्टिकोण र सही कुराको पक्षमा दृढ रहने अडानका कारण होनहार नेताका रुपमा स्थापित हुनुका साथै सरल, शालिन, मिलनसार, सहयोगी र कुशल राजनीतिज्ञको छवि बनाउन सफल हुनुभएको चर्चा गरे ।

उनले “मैले नविन्द्रलाई सन्निकटमा रहेर चिन्ने र बुझ्ने मात्र होइन आफूले सुझाव, साथ र सहयोग गरेर एउटा जागरुक, उत्साही र कर्मठ व्यक्तित्व निर्माणमा सदैव उत्प्रेरित गर्ने अभिभावकका रुपमा जीवनपर्यन्त बाटो देखाउने मौका पाएँं”,

जोशीकी पत्नी एवम् सांसद सपना राजभण्डारीले जोशीले लिनुभएको राजनीतिक लक्ष्य पुरा गर्न आफू लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

सोही अवसरमा राष्ट्रपति पौडेलले विस २०४६ सालको जनआन्दोलनका शहीद निर्गुण स्थापितको शालिकमा समेत माल्र्यापण गरे । विस २०१९ पुस २२ गते काठमाडौँमा जन्मिएका जोशीको विस २०७७ चैत १३ गते निधन भएको थियो ।

उनी संविधानसभा सदस्य, उद्योगमन्त्री, काठमाडौँ महानगरपालिकाका उपप्रमुख, गणेशमान सिंह अध्ययन प्रतिष्ठानका संस्थापक अध्यक्षलगायत विभिन्न सामाजिक संस्थामा संलग्न थिए ।