Logo

बागमती पेज

भाद्र १, २०८० शुक्रबार

सुरक्षा दिने नवलपरासीका सीमा प्रहरी आफैँ असुरक्षित


काठमाडौं । नवलपरासीमा आम नागरिकलाई सुरक्षा दिने नेपाल प्रहरी नै आफैँ असुरक्षित बनेको छ । जीर्ण कार्यालय, आवास र न्यून जनशक्तिका कारण मुलत सीमा नाकामा खटिने प्रहरी आफैँ असुरक्षित देखिएको हो ।

तस्करहरूको ट्रान्जिट पोइन्टको रुपमा रहेको पश्चिम् नवलपरासीको सीमा नाकामा रहेका प्रहरी कार्यालयहरू यति जीर्ण छन् कि जनतालाई सुरक्षा दिने निकायका प्रहरी बस्ने आवास सहितको कार्यालयको अवस्था बिजोग रहेको छ । सरकारबाट विभिन्न प्रयोजनका लागि विभिन्न नाममा अरबौँ रुपियाँको लगानीमा ठाउँ-ठाउँमा उपयोग विहीनका भवन बनिरहँदा प्रहरी कार्यालय भने जीर्ण भग्नावशेष जस्तै बन्दै गइरहेको तितो यथार्थ रहेको छ ।

पश्चिम् नवलपरासीको सीमा नाकामा रहेका अधिकांश प्रहरी कार्यालयहरू मान्छे बस्न लायक छैनन् । तर, कर्तव्य निर्वाह गर्न, सिमामा ज्यानको बाजि लगाएर तस्करी रोक्न अहोरात्र खटिने प्रहरीका केही कार्यालय भवनहरू भने पशु राख्ने गोठ भन्दा कम छैनन् ।

झनै, संवेदनशील मानिएका सीमा नाकाका प्रहरी कार्यालयहरूमा ९/१० जनाको मात्र दरबन्दी रहेको छ । तस्करहरूको ट्रान्जिट पोईन्टको रुपमा चिनिएको भुजहवा प्रहरी चौकीमा सइको नेतृत्वमा जम्मा ९ जनाको मात्र दरबन्दी रहेको छ भने अपर्झट पर्दा प्रयोग गर्ने साधनको नाममा एउटा थोत्रो बाइक रहेको छ । भुजहवामा रहेको प्रहरी चौकी को भान्सा घर बर्सातको मौसममा चुहेर टिनमाथि त्रिपालले छाइएको छ । उनीहरूले प्रयोग गर्ने शौचालयको छत चुहेर बिजोग अवस्थामा छन् ।

जिल्लाको भुजहवा,पचपेडा लगायतका कयौँ प्रहरी कार्यालय भवनहरू बर्षौ पुराना रहेका छन् । बर्सातको समयमा कयौँ प्रहरी कार्यालयहरू छाना चुहिएर सुत्नै नसकिने अवस्थामा रहेका छन् । तर प्रहरी सङ्गठनको चेन अफ कमान्डका विरुद्धमा गएर आफ्ना समस्या सार्वजनिक रुपमा राख्ने हिम्मत कुनै पनि प्रहरी कार्यालयका इन्चार्जसँग छैन । जिल्लाको एक प्रहरी चौकीका इन्चार्ज भन्नुहुन्छ ‘हामी एउटा चौकीमा ९/१० जना मात्र छौ, तस्करहरूले नै हामीमाथि नै आक्रमण गर्लान् भन्ने चिन्ताले हामी सिभिलमा एक्लै हिँड्न सक्दैनौ’ ।

जिल्लाका बसहिया प्रहरी चौकी बाहेक अन्य प्रहरी कार्यालय भवनको अवस्था ज्यादै जीर्ण रहेको छ । राज्यको सुरक्षा गर्न बसेका प्रहरीको यो अवस्थाले प्रहरी सङ्गठनलाई मात्र होइन सरकारलाई नै गिज्याइरहेको छ । राजा वीरेन्द्रको ५४ औँ जन्म जयन्तीका अवसरमा उद्घाटन गरिएका प्रहरी चौकीहरूको समेत अझै मर्मत हुन सकेको छैन ।

‘न तारबार सहितको सुरक्षा छ, न बस्ने लायकको भवन न शुद्ध पिउने पानीको व्यवस्था, न सुत्ने ठाउँको पर्याप्तता, न जनशक्ति नै । हाम्रो विषयमा बोलिदिने को रु’ एक प्रहरी कार्यालयका अधिकारीले गुनासो पोख्नुभयो । यस विषयमा पश्चिम् नवलपरासी प्रहरीको सेवा सुविधा, आवास र जनशक्तिका विषयमा सम्बन्धि निकाय मौन जस्तै बनेको छ ।

तस्करहरू र बिचौलियाको बिगबिगी रहेको जिल्लामा प्रहरी सङ्गठनकै मनोबल उच्च नरहँदा यसले आम नागरिकको सुरक्षामाथि नै गम्भीर प्रश्न खडा गरेको छ । अर्कातिर, प्रहरी कार्यालय र स्वयम् सङ्गठन नै जनशक्ति अभावमा असुरक्षित छन् । जिल्लामा चौकीसहित २८ वटा प्रहरी कार्यालय रहेको डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार कुडिया, नर्सही,अमानीगन्ज, गुठी सुर्यपुरा लगायतका केही प्रहरी कार्यालय जीर्ण रहेका छन् भने सिमामा प्रहरी जनशक्ति समेत ज्यादै न्यून छ ।

चोरी पैठारीको नियन्त्रणका लागि जनशक्ति अभावमा ज्यादै कठिन भएको र जीर्ण भवनका कारण प्रहरीको दैनिकीमा ठूलो प्रभाव पारेको डिएसपी पाण्डेले बताउनुभयो । रेडियो नेपाल