Logo

बागमती पेज

असार २५, २०८० सोमबार

कक्षा ११ मा भर्ना भएका विद्यार्थीको विवरण पठाउन महानगरको निर्देशन


काठमाडौं। काठमाडौं महानगरपालिकाले कक्षा ११ मा महानगरभित्र पढ्न चाहने विद्यार्थीलाई योग्यताक्रमका आधारमा कोटा निर्धारण गरी छात्रवृत्ति उपलब्ध गराउन शैक्षिक संस्थालाई निर्देशन दिएको छ। महानगरले शुक्रबार एक सूचना प्रकासन गर्दै आर्थिक वर्ष २०७९/०८० को मसान्तसम्म कक्षा ११ मा भर्ना भएको विद्यार्थीको विवरण पठाउन निर्देशन दिएको हो।

महानगर प्रमुख बालेन शाहले माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण भएर कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीलाई महानगरपालिकाभित्र पढ्न चाहने सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाति, आदिवासी, गरिब लगायतका छनोटका आधार तयार गरी योग्यताक्रमका आधारमा कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन आवश्यक भएकोले सम्बन्धित शिक्षण संस्थालाई यो सूचना जारी गरिएको बताएका छन् ।

‘राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा १० को माध्यमिक शिक्षा परीक्षाको नतिजा बिहिबार प्रकाशन भइसकेको छ । उक्त परीक्षामा पास भएर कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई काठमाडौं महानगरपालिकाभित्र पढ्न चाहने सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाति, आदिवासी, गरिबलगायतका छनोटका आधार तयार गरी योग्यताक्रमका आधारमा कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन आवश्यक भएकोले सम्बन्धित शिक्षण संस्थालाई यो सूचना जारी गरिएको छ‚’ उनले आफ्नो सामाजिक सञ्जाल (फेसबुक)मा लेखेका छन् ।

‘काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५’ तथा ‘शिक्षा नियमावली, २०७४’ मा व्यवस्था भएबमोजिम काठमाडौं महानगरपालिकाअन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूका लागि वितरण गर्ने छात्रवृत्तिका लागि विद्यार्थी छनोटसम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०/०८१ देखि काठमाडौं महानगरपालिकाले आफैँ नै सञ्चालन गर्न लागेको उनले बताए ।

आवेदनका लागि महानगरपालिकाअन्तर्गत सञ्चालित कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सबै शिक्षण संस्थाहरूलाई शैक्षिक सत्र २०७९र०८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको सङ्ख्या असार मसान्तभित्र पठाउन सूचित गरिएको छ ।

विगतमा कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सम्बन्धमा शिक्षण संस्थाहरूले फरक फरक भर्ना तालिका तय गरेर छोटो अवधिको सूचना प्रकाशन गर्ने गरेको र यसबाट देशका दुर्गम क्षेत्रबाट भर्नाका लागि काठमाडौंमा आउने विद्यार्थीहरू आवेदन दिने अवसरबाट वञ्चित भएको गुनासोप्रति महानगरपालिकाको ध्यानाकर्षण भएको प्रमुख शाहले बताए ।

माध्यमिक शिक्षा परीक्षाको नतिजा सार्वजनिक भएको मितिबाट कम्तीमा १५ दिनसम्म आवेदन दिन सक्ने गरी कक्षा ११ वा सो सरहका तहमा भर्ना कार्यक्रम तय गर्न सबै शिक्षण संस्थालाई महानगरले एक सूचना जारी गर्दै आह्वान समेत गरेको छ।