Logo

भवानी कार्की

श्रावण ३१, २०८० बुधबार

म पढेको स्कुल, कुटीडाँडा मावि


काठमाडौँ । मलाई एक दिन ममीले विद्यालय लैजान्छु भनेर आफुससँगै लिएर जानुभयो । ममीसँग हात समाएर रमाउँदै हिँडेकी म विद्यालयमा पहिलो पाइला टेक्दै थिएँ । विद्यालय पुगेपछि, त्यहाँका अनौठा संरचना, नयाँ मानिस र आफूजस्तै बच्चाहरू देखेँ । त्यो दिन सर म्यामले परिचय गराउनुभएको थियो । राम्रोसँग आफ्नो परिचय समेत दिन नजानेकी मेरो त्यस दिन विद्यालयको पहिलो अनुभव थियो । विद्यालय जाँदै गर्दा मलाई पठनपाठन रमाइलो लाग्न थाल्यो । नयाँ साथी, नयाँ किताब कापी, गुरु बा, गुरुआमा उहाँहरूले सिकाउनुभएका ज्ञानका कुरा । मेरो त जीवनशैली नै फरक हुन थाल्यो ।

अहिले विद्यालय छोडेको एक दशक बढी भएछ । हाल म देशको सङ्घीय राजधानी स्थित रत्न राज्य क्याम्पसमा पत्रकारिता विषयमा स्नातकोत्तर चौथो सेमेस्टरको पढाइ गरिरहेकी छु ।  पत्रकारिता मेरो रुचिको विषय हो । विभिन्न सञ्चार माध्यममा काम गर्ने भएकाले र पत्रकारिता विषयको विद्यार्थी भएकाले पनि मलाई आफू पढेको विद्यालयको बारेमा लेख्न मन लाग्यो ।

जुन विद्यालयबाट मैले अक्षर चिन्न जाने हाल सो विद्यालय शैक्षिक दृष्टिकोणमा जिल्लाकै अब्बल सामुदायिक विद्यालयको रूपमा चिनिन्छ । दोलखाको भीमेश्वर नगरपालिका वडा नं ७ मा रहेको श्री कुटीडाँडा माध्यमिक विद्यालय, जहाँबाट मैले शैक्षिक यात्रा सुरु गरेकी थिएँ । दोलखा जिल्लाको सदरमुकाम नजिकै मकैबारी गाविस वडा नं १२ मा विद्यालय थियो । हाल भीमेश्वर ७ मा पर्छ कुटीडाँडा ।

विद्यालयको बारेमा जतीनै बयान गरेपनि कमी नै हुन्छ । मैले थाहा पाउँदा विद्यालय प्रधानाध्यापक शंकरलाल श्रेष्ठको प्रशासनिक नेतृत्वमा थियो । मैले जति पढाइको फड्को मार्दे गएँ, त्यतीनै विद्यालयको स्तर उन्नति पनि हुँदै थियो ।

विद्यालयको ऐतिहासिक पृष्ठभूमि भन्नुपर्दा, वि सं १९७८ सालतिर दोलखा सदरमुकामदेखि पश्चिमी भगमा रहेको मकैबारी गाविस मानेटार भन्ने डाँडाको समीपमा एक जना योगीले आफू बस्नका लागि एक आकर्षक कुटी बनाएर ध्यान गरी बसेका थिए । पछि क्रमशः सबैले त्यस ठाउँको नाम कुटीडाँडा भन्न थाले । पछि कुटी भत्किएर कहाँ पुग्यो त्यसको मर्मत सम्भार हुने काम पनि भएन । तर विद्यालयको नाम भने सोही कुटीको सम्झनामा कुटीडाँडा रहन गएको जानकारहरू बताउँछन् ।

लामो समयसम्म निमाविको रूपमा सञ्चालित भएको कुटीडाँडा २०५४ साल फाल्गुण २५ गते अनुमति पश्चात् माविका कक्षा सञ्चालन भएका थिए । २०६६ सालमा उच्च माध्यमिक शिक्षा परिषद् सानो ठिमी भक्तपुरबाट सम्बन्धन लिई उच्च माध्यमिक विद्यालयमा परिणत भएको थियो । २०६८ सालको एसएलसी परीक्षामा उत्तीर्ण भएपछि धेरै साथी उच्च शिक्षा पढ्न कता कता पुगे । तर विद्यालयमै कक्षा १२ सम्म पढ्न पाउने भएपछि मैले उच्च शिक्षाका लागि अन्त पढ्न जाने निर्णय गरिन । र उच्च शिक्षा अन्तर्गत कक्षा ११, १२ पनि त्यहीबाट गरेँ । लगभग १२ वर्ष मैले कुटीडाँडामा यात्रा गरे ।

मैले अध्ययन गर्दाका तिता मिठा अनुभव अझै पनि ताजै छन् । विद्यालयको भौतिक संरचना, अध्यापन गराउनुहुने गुरु, गुरुआमा अनि प्यारा साथीहरू । बच्चा बेलामा हामी उटपट्याङ पनि गर्थ्यौँ । त्यतीबेला विद्यालय जाने गोरेटो बाटो थियो । बर्खाको समय चिप्लो बाटो, त्यसमाथि घाँसले पुरेको हुन्थ्यो । सोही बाटो हिँड्दा हामी साथी–साथी मिलेर घाँसको गाँठो पारिदिन्थ्यौँ । धेरै जना त्यही गाँठोमा अल्झिएर लडेका पनि थिए । आहा साँच्चै रमाइलो थियो बालापन । त्यस्तै गरी विद्यालयको रमाइलो यात्रा अघि बढ्दै थियो ।

विद्यालयका प्रधानाध्यापक शंकरलाल श्रेष्ठको बारेमा कुरा गर्नुपर्दा, उहाँ झट्ट हेर्दा शालीन स्वभावको भद्र देखिने, थोरै बोल्ने, मन्द मुस्कुराउनु हुन्थ्यो । उहाँको कार्यकालमा विद्यालयको शैक्षिक स्तर, भौतिक संरचना व्यवस्थापकीय क्षेत्र लगायत धेरै कुरामा बदलाव आउन थाल्यो । शंकर सर कुटीडाँडामा लामो समयसम्म विद्यालयको प्रधानाध्यापकका रूपमा रहनुभयो । हाल सम्म पनि उहाँ नै विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ ।

विद्यालयका अरू शिक्षक शिक्षिकाहरूमा, हरिशरण न्यौपाने, ध्रुव बस्नेत, रुपा भुजेल, ध्रुव खड्का, नारायण भुजेल, विमला दुलाल, मुना सापकोटा लगायत अरू सबै जना एकदमै प्यारा हुनुहुन्थ्यो । उहाँहरूमध्ये केही आजसम्म पनि कुटीडाँडामै अध्यापन गराउनुहुन्छ ।

२०३२ सालमा स्थापना भएको कुटीडाँडा हाल स्थापनाको ४७ औँ वर्ष भइसकेको छ । समयले फड्को मारेसङै विद्यालयको भौतिक संरचना, रहनसहन, पठनपाठन र विद्यालयमा पढ्ने विद्यार्थीहरूको स्वभाव पनि फेरिएका छन् । विद्यालय भौतिक संरचनामा सुविधायुक्त र प्रविधिमैत्री बनेको छ ।

केही समय अघि विद्यालयको ४७ औँ वार्षिक उत्सवको समयमा प्रधानाध्यापक शंकर सरसँग कुरा गरेकी थिएँ । उहाँले विगतको तुलनामा विद्यालय धेरै अघि बढिसकेको छ नानी भन्नुभयो । पूर्व विद्यार्थी भएर विद्यालयलाई माया गरेनौ, विद्यालयमा कहिले आउँदैनौ भन्दै गुनासो पनि गर्नुभएको थियो । हुन पनि हो, एउटा लक्ष्य लिएर हिँडेपछि ध्यान तेतै हुँदो रहेछ । तर विद्यालय प्रतिको मोह भने पटक्कै घटेको छैन ।

दिनानुदिन विद्यालयले प्रगति गरेको खबर सुन्दा गर्व लाग्छ । पहिला म पढ्दाको कुटीडाँडा र अहिलेको कुटीडाँडा हेर्दा साँच्चै अबका भाइबहिनी धेरै भाग्यमानी लाग्छ । हामीले दुःख सुख पढाई गरेऊँ । विद्यालयमा खानेपानीको अभाव, अव्यवस्थित शौचालय, खाजा खान स्कुलमा पैसा लैजाने चलन थिएन । न त स्कुलमा खाजा खाने क्यान्टिन नै थियो । पहाडमा कामको दुःख त्यस्तै थियो । बिहानभरि घरको काम सकेर विद्यालय जानुपर्ने बाध्यता त्यस्तै थियो । गाउँको परिवेस् ।

तर समय फेरिएको छ । विगत र अहिलेको शिक्षा प्रणालीमा धेरै अन्तर भइसकेको छ । अहिले पढाइको साथसाथै व्यवहारिक सीप सिकाउने, प्रयोगात्मक ज्ञान प्रवाह, पेसागत सीप विकास, जिम्मेवारी बोध गराउने जस्ता जीवन उपयोगी ज्ञान पनि सिकाइन्छन् । प्रविधिमैत्री वातावरण, शिक्षासँगै योग ध्यान, विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापका साथ विद्यार्थीहरू पढाइन्छ ।

तिनै कुराहरूलाई मध्यनजर गर्दै कुटीडाँडाले पनि शिक्षा क्षेत्रमा नवीनतम परिवर्तन ल्याउन देशको राजनीतिक तथा सामाजिक लगायत स्थानीय आवश्यकताका आधारमा समेत विद्यार्थीलाई अब्बल बनाउन गुणस्तरीय शिक्षा प्रदान गर्ने जमर्कोका साथ अघि बढेको पाएको छु । हुन त विगतमा पनि विद्यालयले थुप्रै त्यस्ता व्यत्तित्वहरु जन्माई सकेको छ जसले आफ्नो भविष्य आफै कोरिसकेका छन् ।

२०७९ मा पनि एसइई परीक्षामा ३.९० जिपिए ल्याएर विद्यालय जिल्ला प्रथम हुन पुगेको छ । ३.९० जिपिए ल्याएर उत्तीर्ण भएका भाइ विप्लव घिमिरेलाई धेरै धेरै बधाई छ । साथै विद्यालयलाई पनि हार्दिक बधाई दिन चाहन्छु । आगामी दिनमा पनि भोलीका कर्णधारहरूको उज्यालो भविष्यका लागि विद्यालयले अतुलनीय योगदान पुराउनेमा आशावादी छु ।

शिक्षाको विकास विना देशको विकास सम्भव छैन । कुनै पनि समाजको स्तर त्यो समाजको शिक्षाको स्तरले निर्धारण गर्छ । निजी विद्यालयको अस्वस्थ प्रतिस्पर्धाको बिचमा सामुदायिक विद्यालयमा पनि गुणस्तर शिक्षा लिन पाइन्छ भन्ने ज्वलन्त उदाहरण हो कुटीडाँडा मावि.। आगामी दिनमा पनि विद्यालयको अझै शैक्षिक प्रगति होस् । जय कुटीडाँडा ।