Logo

बागमती पेज

मंसिर ८, २०८० शुक्रबार

दुर्गा प्रसाईंलाई घरबाहिर निस्कन ‘रोक’


काठमाडौँ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’ का संयोजक दुर्गा प्रसाईंलाई स्थानीय प्रशासनले घरबाहिर निस्कन ‘रोक’ लगाएको छ ।

निषेधित क्षेत्रमा कार्यक्रम गर्ने, सामाजिक सद्भाव भड्काउनेलगायतका क्रियाकलापमा संलग्न हुन खोजेको भन्दै स्थानीय प्रशासनले उनलाई स्थानहद(घरबाट बाहिर निस्कन रोक) लगाएको हो ।

भक्तपुरको थिमिस्थित उनको निजी निवासबाहिर दंगा नियन्त्रण टोलीसहित सुरक्षाकर्मी परिचालन गरिएको छ । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले अनुमति नलिई प्रसाईंले सार्वजनिक कार्यक्रम गर्न खोजेको बताइन् ।

‘हिजोको उहाँहरूको गतिविधि अराजक देखियो । आज फेरि अनुमति नलिई सार्वजनिक स्थानमा कार्यक्रम राख्ने भन्नु भएको छ । बिनाअनुमति यसरी कार्यक्रम गर्न पाइँदैन । उहाँहरूकै सुरक्षाका लागि उहाँ जहाँ हुनुहुन्छ त्यहीँ रोकिएको हो । अनुमति नलिई उहाँहरूलाई कार्यक्रम राख्न दिइने छैन,’ प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भनिन् ।

बिहीबार बल्खु क्षेत्रमा भएको विरोध प्रदर्शनपछि प्रसाईंले कार्यक्रम समापनका क्रममा र पत्रकार सम्मेलनमार्फत उत्तेजक, अराजक, हिंसात्मक, ध्वंशात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिएको पनि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनाएको छ । समापन कार्यक्रममा प्रसाईंले शुक्रबारदेखि तीनकुने क्षेत्रमा विरोध प्रदर्शन गर्ने बताएका थिए ।