Logo

बागमती पेज

मंसिर २०, २०८० बुधबार

प्रहरीद्वारा ३३ बोरा चिनी बरामद


काठमाडौँ। इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले राजस्व छली ल्याइएको ३३ बोरा चिनी बरामद गरेको छ ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९ स्थित बिपी राजमार्गअन्तर्गत प्रहरी चेक पोष्टमा आज बिहान सवारी जाँचका क्रममा बा प्र ०३-००१ ख १९६६ नं को यात्रुबहाक बसमा राजस्व छली ल्याइएको ५० किलोका ३३ बोरा (१६५० किलो) चिनी बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार सङ्खुवासभाको खाँदबारीबाट काठमाडौँतर्फ जाँदै गरेको उक्त बसको हुट र डिकीमा लुकाइछिपाइ ल्याइएको उक्त परिमाणको चिनीसहित बस र बसका चालकलाई नियन्त्रणमा लिइएको हो । बस र चालकबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

घटनाक्रमले काभ्रेपलाञ्चोक सदरमुकाम धुलिखेल जोडिएको बिपी राजमार्गबाट पूर्वी तराईका विभिन्न स्थानबाट चिनी तस्करी हुने गरेको देखाएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले बिपी राजमार्गअ मा सवारी ‘चेकिङ’मा अवैध रूपमा चिनी भित्रने गरेको पाइएपछि नियमित यातायातका साधन जाँच गर्न थालिएको प्रनाउ श्रेष्ठले जानकारी दिए ।