Logo

बागमती पेज

पुस २२, २०८० आईतबार

दूतावासले सिधै २० करोड वितरण गर्नेकुरा खेदजनक छ : ईश्वर पोखरेल


काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले गरेको भारतीय राजदुतावासले सिधै २० करोड रुपैयाँ पैसा खर्च गर्न पाउने सहमतिको विरोध गरेका छन्।

आनन्दनगर पार्क धुम्बाराहीमा राष्ट्रिय अपाङ्गता संगठन नेपाल काठमाडौँ जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रममा उनले कुनै पनि देशले बजेटअन्तर्गत नभइ सिधा जनतामा वितरण गर्नेकुरा आफ्ना मान्छे बनाउने षड्यन्त्रपूर्ण योजना भएको जिकिर गरे। उनले सरकारले गरेको सो सहमति र सम्झौताको विपक्षमा नेकपा एमाले रहेको बताए। उनले यो सहमति राष्ट्रिय हित विपरित रहेको दाबी गरे। उनले सिधा दूतावासले वितरण गर्नेकुरा खेदजनक रहेकाले नेकपा एमालले स्वीकार गर्न नसक्ने बताए।

‘अहिले एउटा छिमेकी मुलुकका परराष्ट्रमन्त्री आउँछन्। हिजो कुनै बेला तीन करोड वितरण गर्दथ्यो राजदूतावासले। त्यसपछि ५ करोड वितरण गर्ने कुरा प्रारम्भ गरियो। अहिले २० करोड पुर्‍याइएको छ। त्यो हाम्रो राष्ट्रको बजेटअन्तर्गत होइन, बजेटको अंग बनाएर होइन। अब कुनै पनि मुलुकको राजदूतावासले नेपालभित्र आएर पैसा वितरण गर्ने र आफ्ना मान्छे बनाउने योजनाको डरलाग्दो षड्यन्त्रपूर्ण योजना बनाइएको छ। नेकपा एमाले त्यो सहमति र सम्झौताको विरोध गर्दछ र त्यसमा असहमति प्रकट गर्दछ। यो राष्ट्रिय हितको विपरीत हो। राष्ट्रिय स्वाभिमान र स्वतन्त्रतामा आँच पुग्ने कुरा हो। भारतको मात्रै कुरा होइन कुनैपनि देशले सहयोग गर्छ भने स्वागत गर्दछौं तर त्यो सहयोग बजेटअन्तर्गत वितरण गर्नुपर्छ। सिधा दुतावासले वितरण गर्नेकुरा खेदजनक छ, त्यो मान्य हुन सक्दैन’, उनले भने।

यस्तै उनले वर्तमान गठबन्धनको सरकार भारत भ्रमणमा जाँदा नेपाली भूमि फिर्ताबारे एक शब्द पनि बोल्न नसकेको आरोप लगाए। उनले अतिक्रमित भूमि फिर्ता लिनुपर्छ भन्ने कुरामा सरकारले कुटनीतिक पहल र प्रयत्न पनि गर्न नसकेको बताए।

उनले भने, ‘अहिलेको गठबन्धनको सरकार, त्यो गठबन्धनलाई नेतृत्व गर्ने प्रधानमन्त्री छिमेकी मुलुकमा भ्रमण गर्न जाँदा आफ्नो भूमि फिर्ता ल्याउने बारेमा चुँसम्म पनि बोल्न सक्नुहुन्न। एक शब्द बौल्दैनन्। हाम्रो अतिक्रमित भूमि फिर्ता लिनुपर्छ भन्नेकुरामा कुटनीतिक पहल र प्रयत्न पनि गर्दैनन्। त्यस्तो एउटा निर्लज्ज र कायर खालको भूमिका उनले खेलिरहेका छन्। हामी त्यसको निन्दा र भन्त्र्सना गर्न चाहन्छौं।’