Logo

बागमती पेज

माघ ९, २०८० मंगलबार

अनन्तश्री ब्रह्माण्डीय महायज्ञ-२०८० बागलुङमा हुने


काठमाडौँ । अनन्तश्री ब्रह्माण्डीय महायज्ञ–२०८० सर्वसिद्धिधाम पञ्चकोट बागलुङमा फागुन ९ देखि २३ गते सम्म हुने भएको छ । प्राकृतिक सौन्दर्यले भरिपुर्ण विश्व प्रसिद्ध मुक्तिक्षेत्रमा अवस्थित राष्ट्रकै महत्वपूर्ण धार्मिक एवं पर्यटकीय जिल्ला बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा सो महायज्ञ गरिने भएको हो ।

नेपालकै ईतिहासमा प्रथम पटक हुन गईरहेको ब्रह्माण्डीय महायज्ञ नेपालका तीर्थस्थल एवं पर्यटकीयस्थलहरुको संरक्षण सम्बर्धन गर्न महायज्ञ गर्नलागिएको सोमवार गोल्फुटारमा आयोजित पत्रकार सम्मेलन मार्फत जनाईएको छ ।

राष्ट्रसमुन्नति, विश्वशान्ति, प्रकृति, पर्यावरण र वातावरणको संरक्षण, श्रीनेपालका देवस्थल, तीर्थस्थल र धार्मिक पर्यटकीयस्थलहरुको प्रचार गर्दै पर्यटन प्रवर्धनद्वारा राष्ट्रिय अर्थतन्त्रको विकास गर्नुका साथै विश्व जलसम्पदा रक्षाको प्रतिकस्वरुप रहने निर्माणाधीन श्रीविश्वशान्ति गण्डकी कलशलाई पुर्णता दिने उदेश्यले १५ दिवसीय महायज्ञ आयोजना गरिएको श्रीमुक्तिनाथपीठाधीश्वर स्वामीकमलनयानचार्य श्रीमुक्तिनाथबाबाले जानकारी दिनुभएको छ ।

ब्रह्माण्डका समसत देवी, देवता, नदी तिर्थहरुलाई कलसमा आह्वान गरी पुजा आराधना गरिने भएका कारण महायज्ञलाई अनन्तश्री ब्रह्माण्डीय भनिएको हो । स्वामीकमलनयानचार्य श्रीमुक्तिनाथबाबाका अनुसार श्रीमहायज्ञको १५ फिट अग्लो धान्यामौलो (पञ्चश्रीस्वर्णस्तम्भ) मा २१ हजार पाँच सय ५५ जना श्रद्धालु भक्तजनहरुबाट २१ हजार पाँच सय ५५ क्विटल धान अर्पण गरी ऐतिहासिक रुपमा धान्याचल हुनेछ ।

राष्ट्रसमुन्नति, विश्वशान्ति र वैयक्तिक कार्यसिद्धिको संकल्पसाथ ५४ प्रकारका हवनीय द्रव्यहरु राखि गरिने सवालाख श्रीफलको हवन, नवाचल, पञ्चकुण्डात्मक हवन, वैद्धिक सद्शास्त्रहरुको पारायण कथा प्रवचन लगायतका कार्यहरु गरिनुका साथै राष्ट्रको समृद्धि र विकासकालागि महायज्ञका १५ दिन नै विभिन्न विद्याका राष्ट्रिय विकास सम्मेलनहरु हुने महायज्ञका प्रवक्ता सनातन प्रपन्नाचार्यले जानकारी दिनुभएको छ ।

श्रीमुक्तिनाथबाबाको सत्संकल्पानुसार उक्त स्थानमा राष्ट्रप्रेमी वैद्धिक सनातन धर्मानुरागी लाखौ नेपाली नागरिकको सद्भाव र सहयोगबाट विस २०७१ सालमा तत्तकालिन प्रधानमन्त्री दिवंगत शुशिल कोईराला र प्राय नेपालका राष्ट्रिय राजनैतिक दलका सबै नेता उद्योगी, समाजसेवी, बुद्धिजिवी लगायत विभिन्न विद्याका लब्ध प्रतिष्ठित व्यक्तिहरुको समुपस्थितिमा श्रीविश्वशान्ती गण्डकी कलश सहित सर्वसिद्धिधाम पञ्चकोटको सामुहिक शिलान्यास भएको थियो ।

यस्तै ऐतिहासिक र विशाल कार्यहरु एकै समय र स्थानमा आयोजना गरिएको हुदा यसलाई ऐतिहासिक महाएज्ञका रुपमा लिईएको छ । यस महायज्ञमा १० लाख जनसहभागिता रहने, दैनिक १५ हजारले हवन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।