काठमाडौँ । निराश अनुहार लिएर घरको पिँडीमा बसेर आज पनि उही छोराको बाटो हेरिरहेकी छिन् डम्बरकुमारी न्यौपाने । उमेरले ७१ वर्ष नाघिसकेकी न्यौपानेको मनमा आफ्नो हराएको छोरो आउला र बुढेसकालको सहारा बन्ला भन्ने आशा अझै छ ।
उनका छोरा हेमप्रसाद न्यौपाने हराएको ३० वर्ष नाघिसक्यो, तर आजसम्म उनको कुनै अत्तोपत्तो छैन । सानै उमेरमा घरबाट निस्किएर कामको सिलसिलामा भारत पुगेका हेमप्रसाद केही वर्षसम्म त परिवारको सम्पर्कमा थिए, तर क्रमशः उनी सम्पर्कमा आउन छाडे ।
भारत पुगेपछि एक–दुई पटक परिवारमा चिठ्ठीसम्म लेखेर पठाएका हेमप्रसाद पछि एकाएक सम्पर्कविहीन नै हुन पुगे ।
बुढी भएकी आमा डम्बरकुमारीका एक्लो छोरा हुन् हेमप्रसाद । सिन्धुली जिल्ला, दुधौली नगरपालिका–१ मा उनको स्थायी ठेगाना पर्छ । परिवारको एक्लो छोरा, बुवा–आमाको बुढेसकालको सहारा तीनै छोरो परिवारबाट सम्पर्कविहीन हुँदा परिवारमा के भएको होला ? त्यो भोग्नेलाई मात्र थाहा हुन्छ ।
उमेरले नेटो काट्दै जाँदा आफ्नो हराएको छोरा आउला कि भन्ने आशामा छिन् आमा डम्बरकुमारी न्यौपाने ।
उनी भन्छिन् – ‘एक मुठी सास रहुन्जेल आस हुँदो रहेछ । कतै छोरो आइहाल्छ की जस्तो लाग्छ । उसकै बाटो हेरेर बसेको तीन दशक लागिसक्यो । तर छोरो घर फर्केर आएन । जिउँदो छ की मरिसक्यो, त्यो पनि थाहा छैन । फर्केर आउँछ कि भन्ने आशा अझै छ ।’
हेमप्रसाद न्यौपानेका बुवा काशीराज न्यौपाने पनि छोरालाई सम्झिएर उत्तिकै चिन्तित छन् । उनलाई छोराले १५ वर्षको उमेरमा घर छाडेको याद छ । केही समय काठमाडौँमा रहेका हेमप्रसादलाई कसैले ललाइफकाइ गरेर भारतको चण्डिगढ पुर्याएको उनको गुनासो छ । उनले घरमा चिठ्ठी लेख्दा आफू फागु पूर्णिमा पारेर घर आउँछु भनेका थिए ।
भारत पुगेर आफूले ड्राइभिङको काम गरेको र विवाह पनि गरिसकेको उक्त चिठ्ठीमा उल्लेख गरेका थिए । यसरी परिवारलाई घर आउने आश्वासन देखाएका हेम प्रसाद न त घर आए, न त कुनै खबर नै पठाए । भारत पुगेको केही समयसम्म आफू सन्चै रहेको खबर परिवारलाई सुनाइरहेका हेमप्रसाद अहिले कहाँ छन् ? कुन अवस्थामा छन् ? कसैलाई केही थाहा छैन ।
डम्बरकुमारीले छोरालाई लिएर देखेका सपना यत्तिकै गलेका छन् । छोराको एउटा फोटोसम्म पनि छैन उनीसँग । पुरानै अनुहार याद छ केवल । अहिले कस्ता भए देख्न पाएकी छैनन् ।
आमा डम्बरकुमारीलाई याद छ । हेमप्रसाद घरबाट निस्किँदा उनीसँग पैसा थिएन । न त नागरिकता नै थियो । पछि घर आएको बेला नागरिकता बनाइदिने सोचमा थिइन्, तर छोरो नै फर्केर घर आएनन् ।
डम्बरकुमारीलाई छोरो आफूसँग नभएको वियोग त छँदै छ । उनलाई बढ्दै गएको बुढ्यौलीपन र परिवारको आर्थिक अवस्थाले पनि उत्तिकै पिरोलेको छ । घरमा कमाएर दिने कोही छैन । भएको एउटा छोरा सम्पर्क मै छैनन् । छोरी विवाह भएर गइसकिन् । अहिले उनै छोरी–ज्वाइँको शरणमा आफूहरू रहेको न्यौपाने बताउँछिन् ।
लामो समय हराएपछि डम्बरकुमारीले छोराको खोजी नगरेको पनि होइनन् । अनेकौँ कोसिस गर्दा पनि छोराको पत्ता नलागेपछि उनले हरेस खाएकी छन् । अहिले उनी विभिन्न सञ्चारमाध्यमलाई आधार बनाएर छोराको खोजी गर्ने प्रयास गरिरहेकी छिन् ।
मिडियामा आएका समाचार सुनेर, पढेर छोराले सम्पर्क गरिहाल्छ की भन्ने आशामा छन् उनी । उनले विभिन्न सञ्चार माध्यमलाई छोरा खोजिदिन अपिल पनि गरेकी छिन् ।
शारीरिक रूपले पनि कमजोर बन्दै गएकी डम्बरकुमारी आफैँ हिँडडुल गरेर छोराको खोजी गर्न नसक्ने अवस्थामा छिन् । अब उनलाई मात्र भगवान्प्रति भरोसा छ । बुढेसकालमा छोराको अनुहार हेर्न ठुलो धोको छ उनलाई । छोरालाई पर्खिँदा–पर्खिँदै आफैँ अस्ताउने हुँ की भन्ने चिन्ता पनि उक्तिकै छ उनमा । श्रीमान् काशीराज न्यौपाने पनि बुढेसकालमा सहारा दिन छोरा आउँछ कि भन्ने आशामै छन् ।
प्रतिक्रिया दिनुहोस्