Logo

बागमती पेज

जेष्ठ २९, २०८१ मंगलबार

स्वास्थ्यमन्त्री यादव र थापाविच भेटघाट, स्वास्थ्य क्षेत्रको सुधारबारे छलफल


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव र पूर्व स्वास्थ्य मन्त्री गगन थापाबीच भेट भएको छ । स्वास्थ्य मन्त्रालयमा सोमबार दिउसो भएको भेटका क्रममा मन्त्री यादव र पूर्व मन्त्री थापाबीच स्वास्थ्य क्षेत्रको सुधारका विषयमा छलफल भएको छ ।

स्वास्थ्य मन्त्री यादवको सचिवालयले दिएको जानकारी अनुसार छलफलमा पूर्व मन्त्री थापाले मन्त्रालय चलाउँदाको अनुभव सुनाउँदै सुधार तथा प्राथमिकता दिनुपर्ने विषयका बारेमा जानकारी दिएका थिए ।

नेपाली कांग्रेसका महामन्त्री समेत रहेका पूर्व स्वास्थ्य मन्त्री थापाले विशेषगरी स्वास्थ्य बीमा कार्यक्रमको सुधार, जनशक्ति व्यवस्थापन र थप, स्वास्थ्य सेवा प्रवाह र गुणस्तरलगायतका विषयमा बढी नै चासो दिएर छलफल गरेको मन्त्री यादवको सचिवालयले जानकारी दिएको छ।

समग्र स्वास्थ्य क्षेत्रको सुधारसहित समसामयीक विषयमा छलफल भएको छ, धेरैजसो स्वास्थ्य बीमा, जनशक्ति र गुणस्तरका वियषमा छलफल केन्द्रित भयो,ु मन्त्री यादवको सचिवालयले भन्यो ।

छलफलमा मन्त्री यादवले पूर्व स्वास्थ्य मन्त्री थापाको पालामा आएको स्वास्थ्य बीमा ऐन कार्यान्वयनका विषयमा भइरहेको चुनौती र समस्याका विषय र त्यसको समाधान कसरी गर्न सकिन्छ भनेर सुझाव माग गरेका थिए । पूर्व मन्त्री थापाले ऐन कार्यान्वयमा भएका धेरैजसो विषय सहजै र केही सरकारी प्रतिवद्धात अनुसार कार्यान्वयनमा जान सकिने साथै फरक दल भए पनि आफूहरु उक्त ऐन कार्यान्वयनका लागि पूर्ण रुपमा सहयोग गर्न तयार रहेको जानकारी दिएका थिए ।

यस्तै, छलफलमा पूर्व स्वास्थ्य मन्त्री थापाका पालामा भएका राम्रा र सुधारका कामलाई आफूले निरन्तरता दिँदै जाने प्रतिवद्धता पनि मन्त्री यादवले गरेको सचिवालयले जनाएको छ।

पूर्व स्वास्थ्य मन्त्री थापाले स्वास्थ्य सेवाको सुधार र विकासका लागि मन्त्रालयमा यसअघि भएका अध्ययन र प्रतिवेदनहरु त्यसै बसिरहेकाले ती प्रतिवेदनले दिएका सुझाव कार्यान्वय गर्दै जाँदा पनि थुप्रै सुधार ल्याउन सकिने जानकारी दिएका थिए । यसका साथै मन्त्री यादवले स्वास्थ्य बीमा, जनशक्ति, औषधि, अस्पतालहरुको सेवा प्रवाहको सुधार सहित गुणस्तरीय स्वास्थ्य सेवाका क्षेत्रमा आफूले प्राथमिकता दिँदै काम अगाडि बढाएकाले यी विषयमा पूर्व मन्त्री थापासँग थप सुझाव समेत माग गरेका छन्।

सचिवालयका अनुसार सोमबार भएको छलफलमा मन्त्री र पूर्व मन्त्री दुबैले प्राथमिकता दिएका विषय र अनुभाव बाँड्ने काम गरेपछि समग्र स्वास्थ्य क्षेत्रको विकास र विस्तारका विषय लिएर सुझाबसहित अर्को दिन थप छलफल गर्ने विषयमा मौखिक सहमति पनि भएको छ ।