Logo

बागमती पेज

श्रावण ३२, २०८१ शुक्रबार

थाइल्यान्डमा ३७ वर्षीया सिनावात्रा प्रधानमन्त्री नियुक्त


काठमाडौँ । थाइल्यान्डको संसद्ले ३७ वर्षीया पाएटोङ्टार्न सिनावात्रालाई प्रधानमन्त्री चयन गरेको छ।

फेउ थाई पार्टीले बिहीबार पाएटोङ्टार्नलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा चयन गरेको छ। गठबन्धनमा रहेका अन्य १० दलले उम्मेदवार अघि नसारेपछि सिनावात्रा प्रधानमन्त्री बनेकी हुन्।

फेउ थाई पार्टीले थाइल्यान्डको राजनीतिमा प्रभावशाली परिवार मानिने सिनावात्रा वंशका तेस्रो सदस्य पाएटोङ्टार्नलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो। संसदीय प्रक्रिया मार्फत अनुमोदनका लागि शुक्रबार नै संसद्‌मा प्रस्तुत गरेको थियो।

पाएटोङ्टार्नका बुबा थाक्सिन सिनावात्रा र फुपू यङलिङ सिनावात्रा यसअघि नै प्रधानमन्त्री बनिसकेका छन्। थाइल्यान्डको संवैधानिक राजतन्त्रको इतिहासमा उनी सबैभन्दा कान्छी नेत्री हुन्।

राज्यको संवैधानिक अदालतले निवर्तमान प्रधानमन्त्री स्रेता थाभिसिनलाई फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री नियुक्त गरेको भन्दै परेको मुद्दामा दोषी ठहर गर्दै पदमुक्त गरेको थियो। त्यसपछि नयाँ प्रधानमन्त्री नियुक्त गर्ने बाटो खुलेको हो।

नवनियुक्त प्रधानमन्त्री सिनावात्रा थाइल्यान्डकी दोस्रो महिला प्रधानमन्त्री बनेकी छन्। सन् २०२२ को अन्त्यमा राजनीतिमा प्रवेश गर्नुअघि सिनावात्राले होटल व्यवसाय हेर्दै आएकी थिइन्। गत वर्षको आमचुनावमा उनी सक्रिय थिइन्।