Logo

भवानी कार्की

बैशाख २६, २०८० मंगलबार

मानुषी लघुवित्तको एक दिवसीय गोष्ठी सम्पन्न 


काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको एक दिवसीय गोष्ठी सम्पन्न भएको छ । महिलाहरूको सशक्तीकरण तथा आत्मनिर्भरतामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको यस संस्थाले कोभिड पश्चात् पहिलो वार्षिक केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको हो । 

मानुषी लघुवित्तले विगतदेखि नै महिलालाई प्राथमिकतामा राखेर विना धितो कर्जा प्रवाह गर्दे आएको छ । बचत सङ्कलनका लागि ग्रामिण भेग सम्म पुगेर घरदैलो कार्यक्रम गर्दे महिलाहरूलाई आत्मनिर्भर तथा उद्यमी बनाउन उत्प्रेरित गर्दै आएको छ । 

वैशाख २५ सोमवार आयोजित गोष्ठीमा सम्बोधन गर्दै संस्थाकी अध्यक्ष पद्यमासना शाक्यले ग्रामीण भेगका महिलाहरूलाई सशत्तिकरण बनाउन मानुषी लघुवित्तले महत्त्वपूर्ण योगदान पुर्याउदै आएको बताइन् । महिलाहरू उद्य्मशिल तथा आत्मनिर्भर हुन आफै अगाडी बढ्नुपर्ने जनाइन् । परिवर्तित समयसङै महिलाहरूले ज्ञान, सिप, क्षमताको पनि अभिवृद्धि गर्नुपर्ने धारण अध्यक्ष शाक्यले व्यक्त गरिन् । 

कार्यक्रममा संस्थामा आबद्ध उपत्यकाका विभिन्न केन्द्रका केन्द्र प्रमुख तथा सदस्य महिलाहरूको उपस्थित रहेको थियो । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले सुरुवाती चरणबाट हालसम्म आई पुग्दा मानुषी लघुवित्तले निकै फड्को मारेको बताइन् । समूह बनाएर केही गर्न चाहने महिलाहरूका लागि विना धितो ऋण प्रवाह गरी सफल उद्यमी बनाउन मानुषी सफल हुँदै आएको बताइन् । 

उनले भनिन्, “गरिबी न्यूनीकरण गर्न लघुवित्तले ठुलो सहयोग पुर्याउदै छ । सीप सिकेर केही गर्न इच्छुक हुने महिलाहरूका लागि विना धितो कर्जा प्रवाह गर्न मानुषी जहिले पनि तत्पर छ । व्यवसाय सञ्चालन गर्न १० हजार बाट सुरुवात गरेका थियौ अहिले ५ लाख भन्दा माथि कर्जा प्रवाह गर्न हामी सफल भएका छौ । “

महिलाहरूलाई सामाजिक तथा आर्थिक परिवर्तन ल्याउन र उनीहरूको मर्म भावनालाई आत्मसाथ गर्न मानुषी सदैव तत्पर रहेको अधिकृत बज्राचार्यको भनाइ थियो । 

कार्यक्रममा मानुषी लघुवित्तबाट कर्जा लिई व्यवसाय गरिरहेका सफल उद्यमीहरूले आफ्ना सङ्घर्ष र भोगाइहरू प्रस्तुत गरेका थिए । महिलाहरूका लागि मानुषी सदैव आवश्यक रहने उनीहरूको भनाई थियो । 

त्यस्तै मानुषी लघुवित्त सञ्चालक समितिकी नबिना शाक्यले मानुषीले महिलाहरूलाई विभिन्न सिपमूलक तालिम दिँदै आएको बताइन् । सीप सिकेर मात्रै नहुने भएका कारण पैसा नभई व्यवसाय नचल्ने, व्यवसाय नभई आयआर्जन नहुने हुँदा कर्जा प्रवाह गरी व्यवसाय सञ्चालन गर्न र परिवारको जीविका चलाउन मानुषीले महत्त्वपूर्ण भूमिका निभाउँदै आएको उनको भनाई थियो । महिलाहरूले व्यवसायबाट उत्पादन गरेका सामग्रीको गुणस्तर हुनुपर्ने भन्दै सञ्चालक समिति शाक्यले उत्पादित सामग्रीको बजारीकरणमा संस्थाले सहयोग पर्याउने जनाइन्  । 

कार्यक्रममा संस्थाको वार्षिक प्रगतिसँगै संस्थाका सदस्यका समस्या तथा समाधानका विषयमा छलफल गरिएको थियो । संस्थाले ऋण दिएर सफल भएका महिला उद्यमीको सम्मानका साथै उत्कृष्ट १० मा पर्न सफल महिला समूहलाई सम्मानका साथ प्रमाण पत्र तथा पुरस्कार वितरण गरिएको थियो । 

कार्यक्रममा उमेरका हिसाबले संस्थामा लामो समय अबद्ध भइरहने महिला सदस्यलाई पनि सम्मान गरेको थियो । कार्यक्रम अवधिभर महिलाहरूले आफै उत्पादन गरेका गुणस्तर सामाग्रीको प्रदर्शन समेत गरिएको थियो ।