Logo

बागमती पेज

बैशाख १, २०८२ सोमबार

मीन राशि: २०८२ बैशाखको मासिक राशिफल


पेशा र करियर
महिनाको सुरुको भागमा काममा केही बाधा, शारीरिक थकान वा महत्त्वपूर्ण कार्यहरूमा ढिलाइ हुने सम्भावना देखिन्छ। यद्यपि, साथीभाइ वा नजिकका व्यक्तिको सहयोगबाट कामहरू सम्पन्न हुने देखिन्छ। दोस्रो भागदेखि समय क्रमशः अनुकूल बन्दै जाने, आकस्मिक सहयोग वा सहयोगी व्यक्तिको आगमनले हर्षित बनाउने सम्भावना छ। विद्यार्थीहरूका लागि अपेक्षित सफलता प्राप्त हुने र मेहनतको राम्रो प्रतिफल पाइने संकेत छन्।

सम्बन्ध र पारिवारिक जीवन
घरपरिवारमा सानातिना विवाद वा असहजता आउन सक्ने देखिए पनि ती छोटो समयमै समाधान हुनेछन्। जीवनसाथीसँग रमाइलो समय बित्ने, सुखद क्षणहरू बाँड्ने अवस्था छ। साथीभाइ र आफन्तसँगको सम्बन्ध मैत्रीपूर्ण रहनेछ र आवश्यकता पर्दा समयमै सहयोग प्राप्त हुने सम्भावना छ। यद्यपि, केही शत्रु वा नकारात्मक सोच भएका व्यक्तिबाट सानो असहजता वा अपमानको स्थिति आउन सक्ने देखिन्छ। नयाँ व्यक्तिहरूबाट लाभ प्राप्त हुने, तर महिलासँग विवादको सम्भावना देखिन्छ।

आर्थिक पक्ष
न्यायिक वा कानुनी मामिलामा अनुकूल समय रहन सक्छ। व्यापार वा पेशाबाट नाफा, सम्पत्तिमा वृद्धि र स्थान परिवर्तनको संकेत छ। गरगहना प्राप्ति, जमिन सम्बन्धी कार्य वा निर्माण कार्यको थालनी हुने योग बलियो देखिन्छ। समय बित्दै जाँदा कामहरूमा सफलता मिल्ने, मनमा सन्तोष र खुसीको अनुभूति हुने सम्भावना छ। आर्थिक लाभ मिल्नेछ, तर ठूला कामहरूमा सावधानी अपनाउनु जरुरी देखिन्छ। लुकेका धन, तान्त्रिक विधा वा रहस्यमय क्षेत्रबाट लाभको सम्भावना पनि छ।

स्वास्थ्य
स्वास्थ्य सामान्य रहने देखिए पनि सानो सावधानी आवश्यक छ। थकान, चिन्ता र शारीरिक अशक्तता महसुस हुनसक्छ। सवारी दुर्घटना वा सानो चोटपटकको सम्भावना देखिन्छ। आँखाको समस्या वा टाउको दुख्ने समस्या देखिन सक्छ, त्यसैले समयमै स्वास्थ्य परीक्षण र विश्राममा ध्यान दिनु उपयुक्त हुनेछ।

नक्षत्र विशेष राशिफल

पूर्वाभाद्रपद नक्षत्र
तल्लो स्तरका वा गलत व्यक्तिसँगको सम्पर्क बढ्ने, शत्रुता बढ्ने, पद गुम्ने वा व्यवसायमा घाटाको सम्भावना छ। आफन्तसँग मनमुटाव, अनावश्यक दर्शन वा विवादमा फसिने, काममा चक्कर आउने र नराम्रो बानी विकास हुने अवस्था देखिन्छ।

उत्तराभाद्रपद नक्षत्र
चिन्ता, पेटको समस्या, जनावरप्रति डर, यात्रामा असहजता, बेलैमा खाना नपाउने, अस्वस्थता, सानातिना कुरामा रिस उठ्ने सम्भावना छ। कमजोरीको अनुभूति, आफन्त र अधिकारप्राप्त व्यक्तिसँग मनमुटाव हुनसक्छ।

रेवती नक्षत्र
घाइते व्यक्तिहरू भेट्नु पर्ने, हतियार वा आक्रमणको डर, सवारी दुर्घटना, सम्पत्तिमा घाटा, कानुनी मामिलामा अप्रत्याशित परिवर्तन, दुष्ट व्यक्तिसँग सम्पर्क वा प्रहरी/सुरक्षा निकायसँग जोडिने सम्भावना देखिन्छ।

शुभ मितिहरू: २, ९, १२, १८, २१, २५, २९
अशुभ मितिहरू: १, ४, ७, १४, १६, २३, २७