Logo

बागमती पेज

जेष्ठ २७, २०८२ सोमबार

जुम्लाको दुर्गम गाउँ पुग्यो हिमानी ट्रस्ट, सुत्केरीका लागि बर्थिङ सेन्टर


काठमाडौं । गुठीचौर गाउँपालिका–१, मणिसाँघुमा यो सेन्टर बन्नेछ। दुर्गम क्षेत्रका महिलालाई सुत्केरीमा सहजता ल्याउन यो पहल गरिएको ट्रस्टले जनाएको छ।

पूर्वयुवराज्ञी हिमानी शाहले आइतबार बर्थिङ सेन्टरको शिलान्यास गरिन्। उनका छोरा हृदयेन्द्र पनि सहभागी थिए। उनीहरू शनिबार जुम्ला आएर खलंगाबाट दुई घण्टाको गाडी यात्रापछि मणिसाँघु पुगेका थिए।

राप्रपाका प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीले ट्रस्टको काम प्रशंसनीय भएको बताए। उनले भने, ‘अस्पताल पुग्न नसकेर कुनै पनि आमा अकालमा मर्नुपर्ने अवस्था आउनेछैन। यो बर्थिङ सेन्टर सुरक्षित सुत्केरीका लागि उदाहरण बन्नेछ।’

गुठीचौर–१ का वडाध्यक्ष अर्जुनकुमार महताराले एक करोड ५० लाख लागतमा आवाससहितको बर्थिङ सेन्टर बन्ने बताए। दुई भवन निर्माण हुने र ६ महिनाभित्र सेवा सुरु हुने उनले जनाए। यो सेन्टरबाट गुठीचौर–१ र २ का नौ बस्ती लाभान्वित हुनेछन्।

‘गाउँमा भरपर्दो स्वास्थ्य सेवा नहुँदा धेरै गर्भवती घरमै सुत्केरी हुन्छन्। केही बाटोमै सुत्केरी हुने गरेको भेटिन्छ,’ महताराले भने, ‘अब बर्थिङ सेन्टरले सुरक्षित सुत्केरीको वातावरण बनाएको छ। यो हाम्रा लागि ठूलो खुसीको कुरा हो।’

गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले दुर्गम क्षेत्रको स्वास्थ्य सुधारमा ट्रस्टको सहयोग स्वागतयोग्य भएको बताए। उनले भने, ‘दुर्गममा गर्भवती र सुत्केरीको अवस्था जटिल छ। अब बर्थिङ सेन्टरले आमा र बच्चाको सुरक्षा सुनिश्चित गर्नेछ।’

सेन्टरका लागि स्थानीय लेखक महताराले निःशुल्क जग्गा दिएका छन्। उनलाई शाहले दोसल्ला र कदरपत्रले सम्मान गरिन्। तीन वर्षअघि ट्रस्टले गुठीचौर–१ को चोत्रागाउँस्थित हिमाली रम्भा आवासीय विद्यालयमा लत्ताकपडा सहयोग गरेको थियो।