काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।
हिल्टन होटलमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक तथा नियमन एवं सम्पत्ति शुद्धीकरण निवारण महाशाखा प्रमुख शाम्बराज लामिछाने र सम्पत्ति शुद्धीकरण निवारण विभागका शाखा प्रमुख तथा उपनिर्देशक पदम सोडारीले जीवन बीमा कम्पनीहरूले निर्वाह गर्नुपर्ने दायित्वबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए।
कार्यक्रममा निर्देशक लामिछानेले नेपाल बीमा प्राधिकरणले हालै जारी गरेको “सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशिका, २०८२” बारे जानकारी दिँदै बीमा कम्पनीहरूले यस निर्देशिकाको कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिए। उनले हिमालयन लाइफले यस विषयमा गरेका पहललाई प्रशंसनीय भन्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्न सुझाव दिए।
यस अवसरमा कम्पनीका सञ्चालक समिति अध्यक्ष शुलभ अग्रवालले सम्पत्ति शुद्धीकरण निवारणलाई प्रभावकारी बनाउन आवश्यक व्यवस्था मिलाइएको र प्राधिकरणका नीति–नियमलाई कम्पनीले अक्षरशः पालना गर्ने प्रतिबद्धता व्यक्त गरे। त्यस्तै, सञ्चालक समिति सदस्य प्रमिला के.सी. र प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले पनि कम्पनी यस विषयमा गम्भीर रहेको बताएका थिए।
कार्यक्रममा सञ्चालक समिति पदाधिकारी, शेयरधनी तथा उच्च व्यवस्थापकीय अधिकारीहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्