Logo

भवानी कार्की

कार्तिक ५, २०८२ मंगलबार

फिक्कल गाउँपालिकामा तेस्रो अध्यक्ष कप सम्पन्न


सिन्धुली । फिक्कल गाउँपालिकाको आयोजनामा २०८२ असोज ३० गतेदेखि कार्तिक ३ गतेसम्म सञ्चालन गरिएको अध्यक्ष कप खुल्ला पुरुष तथा गाउँपालिका स्तरीय महिला फुटबल प्रतियोगिताको तेस्रो संस्करण भव्य रूपमा सम्पन्न भएको छ।

गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले खेलकुद युवाको सशक्तिकरण र एकताको माध्यम भएको बताउँदै आगामी वर्षहरूमा अझ व्यवस्थित रूपमा प्रतियोगिता निरन्तर गर्ने प्रतिबद्धता जनाइन्।

कडा मेहनत र लामो तयारीपछि निर्माण भएको डाँडागाउँ खेल मैदानमा सम्पन्न प्रतियोगितामा सहभागी सबै खेलकुद समूहलाई उपाध्यक्ष राजु बरालले धन्यबाद ज्ञापन गर्दै खेलकुदप्रतिको उत्साह र अनुशासनको प्रशंसा गरे। उनले भने, “यस प्रतियोगितालाई सफल बनाउन फिक्कल गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, समाजसेवी, नागरिक समाज, खेलकुद विकास समिति, प्रहरी प्रशासन, पत्रकार, फिक्कल मावि, सोल्पाठाना स्वास्थ्य चौकी, वडा नं. ५ कार्यालय, स्वयंसेवक भाइबहिनी, स्थानीय व्यक्तित्व र दर्शकवृन्द सबैप्रति हार्दिक आभार प्रकट गर्दछु।”

प्रमुख प्रशासकीय अधिकृत डम्बर रजन मगरले खेलकुदले गाउँपालिकाको पहिचान र एकता अभिवृद्धि गर्ने बताए। उनले भने, “फिक्कलका युवामा लुकेको प्रतिभा यस्ता प्रतियोगिताले उजागर गर्छ। स्थानीय स्तरमा खेलमैदान र पूर्वाधार विस्तारमा गाउँपालिकाले निरन्तर सहयोग गर्नेछ।”

प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई पुरस्कार वितरण गर्दै आयोजक पक्षले आगामी संस्करणलाई अझ भव्य बनाउने घोषणा गरेको छ।