प्रतिनिधि सभा निर्वाचनको ‘एक सय दिनको काउन्टडाउन’ सुरु, एमालेले पनि दल दर्ता गरायो
काठमाडौं — प्रतिनिधि सभाको निर्वाचनको एक सय दिनको ‘काउन्टडाउन’ सुरु भएको छ। निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको समय बुधबारसम्म तोकेको छ। मंगलबारसम्ममा ६८ वटा दल दर्ता भइसकेका छन्।
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै आएको नेकपा एमालेले पनि निर्वाचन आयोगमा दल दर्ता गराएको छ। एमालेले चुनावमा जाने औपचारिक निर्णय नलेको भए पनि दल दर्ता गराउँदा चुनावमा सहभागी हुने वा नहुने संशय हटेको छ।
निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकदेखि चुनावको अन्य तयारीमा पनि तीव्रता दिएको छ। यसअघि मतदाता नामावली संकलन गर्दा १ करोड ८१ लाख ८६ हजार मतदाता रहेकोमा, अब फागुन २१ गते हुने निर्वाचनका लागि थप ८ लाख ३७ हजार ९४ मतदाता थपिएका छन्।
दल दर्ता सकिएलगत्तै आयोगले मतपत्रको नमूना बनाउने, आवश्यक कागजात छपाइ, मतदान अधिकृत तोक्ने लगायतका तयारी सुरु गर्नेछ। साथै, मतदाता शिक्षालगायत निर्वाचन पर्यवेक्षकका लागि सार्क मुलुकसहित अन्य देशका निर्वाचन अधिकारीलाई आमन्त्रित गर्ने योजना बनाइएको छ।
विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने विषयमा भने सरकारले कानुन संशोधन गरेपछि मात्रै निर्णय हुन सक्ने आयोगको भनाइ छ।
निर्वाचनमा दलहरूको भूमिका महत्वपूर्ण रहेको र चुनावी सुरक्षासम्बन्धी प्रश्न उठिरहेको भन्दै सरकार र आयोगले दललाई विश्वास दिलाएर निर्वाचनमा प्रचारमा लगाउने र मतदातालाई सचेत बनाउने योजना बनाइरहेको छ।
निर्वाचनमा बढीभन्दा बढी मतदाताको सहभागिता सुनिश्चित गर्न आयोगले अभियान सञ्चालन गर्ने तयारी पनि अघि बढाएको छ। यसअघिको आम निर्वाचनमा करिब ६१ प्रतिशत मत खसेको थियो भने २०७४ सालको आम निर्वाचनमा ६८.६७ प्रतिशत र २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा ७८.७४ प्रतिशत मत खसेको थियो।
निर्वाचनमा मतदान दर घट्दै गएको अवस्थालाई ध्यानमा राख्दै आगामी निर्वाचनमा सुधार ल्याउन आयोगले प्रचार अभियान समयमै सुरु गर्न लागेको छ।
















प्रतिक्रिया दिनुहोस्