Logo

बागमती पेज

२८ मंसिर २०८२, आइतबार

जन्म दर्ता व्यवस्थापन प्रणालीको SOP संशोधनबारे सरोकारवालासँग छलफल


काठमाडौं । जन्म दर्ता व्यवस्थापन प्रणाली (Birth Registration Management System) को कार्यविधि (SOP) संशोधनका सम्बन्धमा सरोकारवालाहरूको सहभागितामा गोकर्ण फरेस्ट रिसोर्टमा दुईदिने छलफल तथा परामर्श कार्यक्रम सम्पन्न भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र जर्मन सहयोग नियोग (GIZ) को सहकार्यमा आयोजित उक्त कार्यक्रममा मन्त्रालयका सचिव, सहसचिव, उपसचिव, शाखा अधिकृतहरू, इन्जिनियरहरू, आईटी परामर्शदाताहरू, साझेदार संस्थाका प्रतिनिधिहरू तथा स्थानीय तह र स्वास्थ्य संस्थाका अधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको सहजीकरण तथा प्राविधिक छलफलको नेतृत्व जन्म दर्ता व्यवस्थापन प्रणाली विकाससँग प्रत्यक्ष रूपमा आबद्ध रहेका आईटी विशेषज्ञ संजित पौडेलले गरेका थिए। पौडेल यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको नागरिक दर्ता विभागमा वरिष्ठ सफ्टवेयर डेभलपर, प्रोग्रामर/सपोर्ट डेभलपरका रूपमा कार्यरत थिए भने निजी क्षेत्रको उदान सफ्टवेयर प्रा.लि. मा सफ्टवेयर डेभलपरका रूपमा पनि कार्य अनुभव हासिल गरेका छन्।

छलफलका क्रममा पौडेलले जन्म दर्ता प्रणालीलाई नीतिगत रूपमा स्पष्ट, प्रविधिमैत्री र दीगो बनाउनु आवश्यक रहेको धारणा राखे। उनले हालको SOP लाई व्यवहारिक कार्यान्वयनमैत्री बनाउँदै स्थानीय तह र स्वास्थ्य संस्थाबीचको समन्वय मजबुत गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार, “जन्म दर्ता प्रणाली नागरिकको पहिचानसँग प्रत्यक्ष रूपमा जोडिएको संवेदनशील प्रणाली हो। त्यसैले यसको कार्यविधि सरल, सुरक्षित र सबै तहमा एकरूप रूपमा लागू हुने खालको हुनुपर्छ।”

बैठकमा सहभागी सरोकारवालाहरूले प्रणाली कार्यान्वयनका क्रममा देखिएका चुनौती, प्राविधिक सुधारका क्षेत्र तथा SOP संशोधनका प्राथमिक विषयहरूबारे सुझाव प्रस्तुत गरेका थिए। कार्यक्रमबाट संकलित सुझावहरू आगामी संशोधित SOP मा समेटिने जनाइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र GIZ को संयुक्त पहलले जन्म दर्ता व्यवस्थापन प्रणालीलाई अझ प्रभावकारी र नागरिकमैत्री बनाउने दिशामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।