Logo

बागमती पेज

३ पुस २०८२, बिहिबार

ईक्यान चितवनको नयाँ नेतृत्वका लागि मतदान: अध्यक्षमा भोजबहादुर खड्का विजयी


ईक्यान चितवनको नयाँ नेतृत्वका लागि मतदान: अध्यक्षमा भोजबहादुर खड्का विजयी

चितवन, पुस ३ — नेपाल शैक्षिक परामर्श संघ (ECAN) चितवन शाखाको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनबाट श्री भोज बहादुर खड्का अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। हालै सम्पन्न संघको साधारणसभा तथा अधिवेशनमा प्रजातान्त्रिक पद्धतिबाट भएको मतदानमार्फत नयाँ कार्यसमिति चयन गरिएको हो।

निर्वाचनको परिणाम अनुसार नयाँ कार्यसमितिको उपाध्यक्षमा मेघराज कडेल, सचिवमा लक्ष्मण कडेल र कोषाध्यक्षमा गोकर्ण अर्याल निर्वाचित हुनुभएको छ। त्यसैगरी कार्यसमिति सदस्यहरूमा रुपेश गौतम, बसन्त पराजुली, विशाल थापा र प्रचण्ड राज न्यौपाने चयन हुनुभएको छ। निवर्तमान अध्यक्षको जिम्मेवारीमा भने श्री दीपक चन्द्र भट्टराई रहनुहुनेछ।

कार्यक्रमको समापनका क्रममा निवर्तमान अध्यक्ष दीपक चन्द्र भट्टराईले नयाँ नेतृत्वलाई बधाई दिँदै निर्वाचनले संघको आन्तरिक लोकतन्त्रलाई बलियो बनाएको बताउनुभयो। उहाँले नयाँ कार्यसमितिले संघको गरिमालाई अझ उचाइमा पुर्‍याउने र संस्थागत कामकारबाहीमा पारदर्शिता कायम राख्नेमा विश्वास व्यक्त गर्नुभयो।

नवनियुक्त अध्यक्ष भोज बहादुर खड्काले मतदानमार्फत आफूमाथि विश्वास गर्ने सबै सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो कार्यकाललाई पूर्ण रूपमा विद्यार्थी–केन्द्रित बनाउने प्रतिबद्धता जनाउनुभयो। उहाँले शैक्षिक परामर्शको क्षेत्रलाई थप व्यावसायिक, मर्यादित र विश्वसनीय बनाउनका लागि सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो। ईक्यान चितवनले लामो समयदेखि स्थानीय स्तरमा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूलाई सही मार्गदर्शन र परामर्श सेवा प्रदान गर्दै आएको छ।