Logo

बागमती पेज

१२ पुस २०८२, शनिबार

आर्थिक रूपमा विपन्न तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने


काठमाडौं । मुना–पुष्कर चालिसे परोपकार केन्द्रले आर्थिक रूपमा विपन्न तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ।

केन्द्रले “One District One Scholarship (ODOS)” कार्यक्रम अन्तर्गत हाल बागमती प्रदेश भित्रका प्रत्येक जिल्लाका विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने तयारी गरेको परोपकार केन्द्रका अध्यक्ष पुष्कर चालिसेले बताए ।

केन्द्रले शनिबार एक योजना सार्वजनिक कार्यक्रम गर्दै आगामी शैक्षिक सत्र २०८२ का लागि कक्षा ६ देखि ९ सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न लागिएको जनाएको छ। कार्यक्रममार्फत प्रत्येक जिल्लाबाट एक जना विद्यार्थी छनोट गरी वार्षिक रूपमा नगद ५ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिनेछ।

सूचनाअनुसार आगामी २०८२ साउन १५ गतेदेखि आवेदन प्रक्रिया सुरु हुनेछ। आवेदन दिने विद्यार्थीले सम्बन्धित कागजातसहित केन्द्रको वेबसाइट वा इमेलमार्फत आवेदन दिन सक्नेछन्।

छात्रवृत्तिका लागि सरकारी सामुदायिक विद्यालयमा अध्ययनरत, आर्थिक रूपमा कमजोर, अनाथ, दलित, जनजाति, अपाङ्गता भएका वा द्वन्द्व तथा विपद् प्रभावित परिवारका विद्यार्थीलाई प्राथमिकता दिइने जनाइएको छ।

छात्रवृत्ति छनोटका लागि केन्द्रले विद्यार्थी छनोट समिति गठन गरी पारदर्शी ढंगले प्रक्रिया अघि बढाउने जनाएको छ। आवश्यक कागजातमा विद्यार्थीको हालसालै खिचिएको पासपोर्ट साइज फोटो, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, विद्यालयको परिचयपत्र, विद्यार्थीको नतिजा विवरण, परिवारको आर्थिक अवस्था खुल्ने सिफारिस पत्र तथा विद्यालय प्रमुखको सिफारिस अनिवार्य गरिएको छ।

केन्द्रले उक्त कार्यक्रम शिक्षा क्षेत्रमा पहुँच अभिवृद्धि गर्दै गरिब तथा जेहेनदार विद्यार्थीलाई निरन्तर अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालन गर्न लागिएको जनाएको छ।

थप जानकारीका लागि केन्द्रको वेबसाइट www.mpcpk.org.np वा इमेल [email protected] मा सम्पर्क गर्न सकिने जनाइएको छ।