काठमाडौँ – तराई–मधेशको महत्वपूर्ण सडक सञ्जाल मानिने हुलाकी राजमार्गअन्तर्गत सिरहा–धनुषा सीमामा पर्ने कमला नदीमा अस्थायी डाइभर्सन निर्माण भएसँगै सवारी आवत–जावत सहज भएको छ। वर्षौँदेखि भासिएको पुलका कारण यात्रु र स्थानीय बासिन्दाले भोग्दै आएको समस्या अस्थायी समाधानतर्फ अघि बढेको हो।
पुल नबन्दा लामो समयसम्म जोखिमपूर्ण यात्रा गर्न बाध्य नागरिकका लागि ह्युम पाइप प्रयोग गरी निर्माण गरिएको डाइभर्सन राहतको माध्यम बनेको छ। सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवका अनुसार करिब एक सातादेखि सार्वजनिक तथा निजी सवारीसाधन नियमित रूपमा सञ्चालनमा आइसकेका छन्। उनले छोटो दूरीबाट मधेस प्रदेशको राजधानी जनकपुर पुग्न सकिने भएकाले यात्रुहरूलाई ठूलो सहजता मिलेको बताए।
गत मंसिर ५ गते निवर्तमान भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले कमला पुलको स्थलगत निरीक्षण गर्दै निर्माण कार्यमा ढिलाइ स्वीकार्य नहुने स्पष्ट सन्देश दिएका थिए। काम सन्तोषजनक नभए ठेक्का तोड्ने चेतावनीसहित उनले तत्काल अस्थायी आवत–जावतको व्यवस्था गर्न निर्देशन दिएका थिए। सोही निर्देशनपछि निर्माण कम्पनीले डाइभर्सन निर्माण गरी सञ्चालनमा ल्याएको हो।
यसअघि स्थानीयले निर्माण गरेको बाँसको पुलबाट शुल्क तिरेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो। वर्षायाममा पुल बाढीले बगाउँदा डुङ्गाको सहारामा नदी पार गर्नुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ।
१४ वर्षदेखि अलपत्र अवस्थामा रहेको ४६९ मिटर लामो कमला पुल अहिले निर्माणको अन्तिम चरणमा पुगेको छ। निर्माण कम्पनीका अनुसार दैनिक ४० देखि ५० जना कामदार फिनिसिङ र मर्मत कार्यमा खटिएका छन् र आगामी असार मसान्तभित्र पुलबाटै सवारी सञ्चालन गर्ने लक्ष्य लिइएको छ।
पप्पु लुम्बिनी जेभीले ठेक्का पाए पनि पप्पु कन्स्ट्रक्सन कालोसूचीमा परेपछि हाल लुम्बिनी बिल्डर्सले निर्माणको जिम्मा सम्हालिरहेको छ। साइट इन्चार्ज सुदीप थापाले बाँकी संरचनात्मक काम तीव्र गतिमा भइरहेको जानकारी दिए।
विसं २०६८ मा तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको पुल २०७८ सालको बाढीले पिलर र स्ल्याबमा क्षति पुर्याएपछि थप जटिल बनेको थियो। लामो समयको अन्योलपछि हाल नागरिक सरकारको सक्रिय पहल र अनुगमनका कारण पुल निर्माणले गति लिएको स्थानीयहरूको भनाइ छ।
हुलाकी राजमार्गको मेरुदण्ड मानिने कमला पुल सम्पन्न भएपछि सिरहा र धनुषाका हजारौँ नागरिकको कष्टकर यात्रा अन्त्य हुने अपेक्षा गरिएको छ।
















प्रतिक्रिया दिनुहोस्