काठमाडौँ । नेपाली कांग्रेस सभापति गगनकुमार थापाको बलियो पकड रहँदै आएको काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा यस पटक कांग्रेसले नयाँ पुस्ताका नेता सचिन तिमिल्सिनालाई उम्मेदवार बनाएको छ। गगन थापा सर्लाही–४ बाट चुनावी मैदानमा उत्रिएपछि उनको राजनीतिक विरासत सम्हाल्ने जिम्मेवारी तिमिल्सिनाको काँधमा आएको छ।
को हुन् सचिन तिमिल्सिना ?
पछिल्लो एक दशकदेखि सचिन तिमिल्सिना युवा राजनीति, नागरिक स्वतन्त्रता, लोकतन्त्र र सामाजिक न्यायका मुद्दामा निरन्तर सक्रिय रहँदै आएका छन्। उनी सन् २०१७ देखि २०२४ सम्म युथ कांग्रेस नेपालको अध्यक्षका रूपमा कार्यरत रहे। यस अवधिमा उनले युवालाई नारामा सीमित राख्ने परम्परा तोड्दै नीति निर्माण र लोकतान्त्रिक अभ्याससँग प्रत्यक्ष जोड्ने अभियान अघि बढाए।
उनकै नेतृत्वमा सम्पन्न नेपाली कांग्रेस नीति २०८० लाई नेपाली राजनीतिमा नयाँ अभ्यासका रूपमा लिइन्छ। उक्त प्रक्रियामा युवाले तयार पारेका गिग इकनोमी, रोजगारी र जलवायु परिवर्तनसम्बन्धी नीति प्रस्ताव संसदीय दलसम्म पुगेर पार्टीको औपचारिक नीति प्रक्रियामा समावेश भएका थिए।
नागरिक स्वतन्त्रता र अभिव्यक्ति अधिकारका सवालमा पनि तिमिल्सिना अग्रपंक्तिमा देखिएका छन्। सामाजिक सञ्जाल निर्देशिका–२०७७, प्रतिनिधिसभा विघटनविरुद्धका आन्दोलन तथा विभिन्न नागरिक अभियानमा उनले खुला र स्पष्ट धारणा सार्वजनिक गर्दै आएका छन्।
सत्तामुखी राजनीतिभन्दा प्रणाली सुधारलाई प्राथमिकता दिने नेताका रूपमा चिनिँदै आएका तिमिल्सिनालाई युवालाई ‘भीड होइन, निर्णयकर्ता’ बनाउने नेतृत्वको रूपमा हेरिन थालिएको छ।
हाल उनी काठमाडौं–४ मा घरदैलो अभियानलाई तीव्र बनाइरहेका छन्। युवाहरू, पेशाकर्मी र नागरिक समाजसँगको निरन्तर भेटघाटमार्फत उनले गगन थापाले स्थापित गरेको राजनीतिक विश्वासलाई निरन्तरता दिने प्रयास गरिरहेका छन्।
गगन थापाको विरासतलाई सचिन तिमिल्सिनाले कत्तिको मजबुत रूपमा अगाडि बढाउन सक्छन् भन्ने उत्तर भने आगामी निर्वाचन परिणामपछि नै स्पष्ट हुने छ।
















प्रतिक्रिया दिनुहोस्