कास्की । लामो समयदेखि परम्परागत राजनीति, भाषण र नारामै सीमित हुँदै आएको नेपाली चुनावी अभ्यासबीच कास्की क्षेत्र नम्बर–२ मा यसपटक फरक अनुहार, फरक सोच र फरक पृष्ठभूमिका उम्मेदवार देखिएका छन्। मसी चुनाव चिन्ह लिएर स्वतन्त्र रूपमा मैदानमा उत्रिएका ४० वर्षीय वैज्ञानिक डा. निरञ्जन कोइराला अहिले कास्की–२ मा ‘वैज्ञानिक उम्मेदवार’का रूपमा चर्चामा छन्।
अन्तर्राष्ट्रिय स्तरमा स्थापित वैज्ञानिक
डा. कोइरालाले सन् २०१६ मा दक्षिण कोरियाको सनमुन युनिभर्सिटीबाट बायोकेमिस्ट्री (फार्मास्युटिकल) विषयमा पीएचडी हासिल गरेका हुन्। त्यसपछि उनले मेक्सिकोको युनिभर्सिडाड नेसियोनल अटोनोमा डे मेक्सिको (UNAM–Mexico) र चीनको मकाउ विश्वविद्यालय (UM–Macao) मा पोस्ट–डक्टोरल अनुसन्धान फेलोशिप पूरा गरे।
पीएचडी पश्चात् उनी पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त काठमाडौंस्थित कलेजमा बायोकेमिस्ट्री विभाग प्रमुखका रूपमा समेत कार्यरत रहे। कोभिड–१९ पछि भने उनी गण्डकी प्रदेश सरकारअन्तर्गत गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान (GPAST) मा वैज्ञानिक तथा प्रवक्ताका रूपमा सेवा गर्दै आए। साथै, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (NAST) को विशेष अनुसन्धान केन्द्रका लागि रिसर्च फेलोशिप पनि प्राप्त गरे।
५५०० भन्दा बढी उद्धरण, पेटेन्ट र विश्वव्यापी पहिचान
डा. कोइरालाले हालसम्म गरेका अनुसन्धान कार्यहरू अन्तर्राष्ट्रिय अनुसन्धान समुदायमा व्यापक रूपमा उद्धृत छन्। सन् २०२५ सम्म गुगल स्कलरमा मात्र उनका अनुसन्धानहरू ५५०० भन्दा बढी पटक उद्धृत भइसकेका छन्। उनले कोरियामा पीएचडी अध्ययनका क्रममा गरेका अनुसन्धानमध्ये अधिकांशमा कोरियाली बौद्धिक पेटेन्ट कार्यालय (KIPO–Korea) बाट पेटेन्ट अधिकारसमेत प्राप्त गरेका छन्।
उनका करिब १०० अनुसन्धान लेख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन् भने ४ वटा पेटेन्ट दक्षिण कोरियामा दर्ता भइसकेका छन्। यसका अतिरिक्त, उनले अन्तर्राष्ट्रिय सम्मेलनहरूमा उत्कृष्ट पोस्टर तथा उत्कृष्ट मौखिक प्रस्तुतीकरण पुरस्कारहरू समेत प्राप्त गरेका छन्।
पुरस्कार र सम्मानको सूची
डा. कोइराला नेपाल सरकारबाट नेपाल विद्याभूषण ‘ए’ पदक, विज्ञान तथा प्रविधि युवा पुरस्कार (२०२२) बाट सम्मानित छन्। साथै, भारतको BRICPL युवा वैज्ञानिक पुरस्कार, सनमुन युनिभर्सिटीको डीन च्वाइस अन्तर्राष्ट्रिय विद्यार्थी समाज अवार्ड जस्ता अन्तर्राष्ट्रिय मान्यताहरू पनि उनले प्राप्त गरेका छन्। हालसालै स्ट्यानफोर्ड विश्वविद्यालयले तयार पारेको विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकहरूको सूचीमा उनको नाम समावेश हुनु नेपाली वैज्ञानिक समुदायका लागि गर्वको विषय बनेको छ।
नीति निर्माणमा विज्ञानको प्रवेश
डा. कोइराला नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका रिसर्च फेलो, क्रसरेफ (Crossref) का लागि नेपालका राजदूत, इन्टरनेशनल एसोसिएसन अफ डाइटेटिक न्यूट्रिशन एन्ड सेफ्टी (IADNS) का लागि नेपालका पर्यवेक्षक तथा फाइटोकेमिकल सोसाइटी अफ एशिया, इन्टरनेशनल केमिकल बायोलोजी सोसाइटी र बायोटेक्नोलोजी सोसाइटी नेपालका सदस्यसमेत हुन्। उनी विभिन्न जर्नलहरूको सम्पादकीय बोर्ड सदस्य तथा समीक्षकका रूपमा पनि सक्रिय छन्।
राजनीति किन?
राजनीतिमा प्रवेशबारे डा. कोइरालाको स्पष्ट धारणा छ— नीति निर्माणमा वैज्ञानिक सोच, तथ्य र प्रमाण आधारित निर्णय आवश्यक छ। शिक्षा, स्वास्थ्य, औषधि उत्पादन, अनुसन्धान, नवप्रवर्तन र रोजगारी सिर्जनाका क्षेत्रमा वैज्ञानिक नेतृत्व बिना देशले दीर्घकालीन फड्को मार्न नसक्ने उनको बुझाइ छ।
कास्की–२ का मतदाताका लागि विकल्प
विद्यालय तहदेखि पोखरामा अध्ययन गरेका, विदेशमा ज्ञान र अनुभव आर्जन गरेर स्वदेश फर्किएका डा. कोइराला आफूलाई ‘नारा होइन, समाधान’ बोकेको उम्मेदवारका रूपमा प्रस्तुत गर्छन्। मसी चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका उनी कास्की–२ मा पुरानै राजनीतिको विकल्प खोजिरहेका मतदाताका लागि फरक सम्भावनाका रूपमा देखिएका छन्।
परम्परागत राजनीतिबाट आजित मतदाताका बीच ‘वैज्ञानिकले संसद् पुगे के फरक पर्ला?’ भन्ने प्रश्न अब कास्की–२ को चुनावी बहसको केन्द्रमा पुग्दैछ।
















प्रतिक्रिया दिनुहोस्