Logo

बागमती पेज

१७ माघ २०८२, शनिबार

जुनियर गर्ल्समा फेरिल्यान्ड र ब्वाइजमा एन्जल्स हार्ट च्याम्पियन


काठमाडौँ — डिफेन्डिङ च्याम्पियन आयोजक फेरिल्यान्ड स्कुल ‘ए’ र एन्जल्स हार्टले शुक्रबार सिमोन स्मृति दोस्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्। बूढानीलकण्ठ नगरपालिका–१० स्थित घरेलु कोर्टमा सम्पन्न फाइनल खेलमा फेरिल्यान्ड जुनियर गर्ल्सतर्फ र एन्जल्स हार्ट जुनियर ब्वाइजतर्फ च्याम्पियन बन्न सफल भएका हुन्।

जुनियर गर्ल्सको फाइनलमा फेरिल्यान्ड ‘ए’ ले भ्याली पब्लिकलाई ३०–२५ स्कोरको अन्तरले पराजित गर्दै आफ्नो उपाधि रक्षा गर्‍यो। फेरिल्यान्डको जितमा सन्दीपा राईले महत्वपूर्ण १० स्कोरको योगदान दिइन्। यस विधामा फेरिल्यान्डकै ‘बी’ टोली तेस्रो स्थानमा रहन सफल भयो।

त्यस्तै, जुनियर ब्वाइजतर्फको उपाधि भिडन्तमा एन्जल्स हार्टले जेबी स्कुलमाथि २०–१६ को रोचक जित निकाल्यो। एन्जल्स हार्टका लागि सौरभ श्रेष्ठले सर्वाधिक ८ स्कोर गरे। ब्वाइजतर्फ आयोजक फेरिल्यान्ड स्कुल तेस्रो स्थानमा सीमित रह्यो।

प्रतियोगिताको समापनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई व्यक्तिगत विधामा पुरस्कृत गरियो। फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सौरभ श्रेष्ठ र सन्दीपा राई आ–आफ्नो विधामा ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए। जुनियर ब्वाइजमा फेरिल्यान्डका मिङमार तामाङ र जुनियर गर्ल्समा भ्याली पब्लिककी सोनीमाया तामाङ उत्कृष्ट थ्री प्वाइन्टर चुनिए। प्रतियोगिताभरकै सर्वाधिक स्कोरकर्ताको अवार्ड जुनियर ब्वाइजतर्फ जेबी स्कुलका हरि मगर र जुनियर गर्ल्सतर्फ फेरिल्यान्डकी करुणा बोगटीले हात पारे।

टिमगत विधातर्फ जुनियर ब्वाइजमा बसुन्धरा नेसनल एकेडेमी (बीएनए) र जुनियर गर्ल्समा हिमशिलाले ‘अनुशासित टिम’को ट्रफी प्राप्त गरे। यसैगरी, जुनियर ब्वाइजतर्फ ज्ञानभूमि र जुनियर गर्ल्सतर्फ न्युटन ‘इमर्जिङ टिम’ (उदयीमान टोली) घोषित भएका छन्। विजयी खेलाडी तथा टिमलाई बूढानीलकण्ठ नगरपालिका वडा नं. १० का अध्यक्ष नवराज भट्टराई, फेरिल्यान्डका निर्देशकद्वय विनोद अधिकारी र राजेन्द्र देवकोटालगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए।