Logo

मेघनाथ पहाडी

२२ माघ २०८२, बिहिबार

भाषण होइन, जन आवाज सुन्ने नेतृत्व चाहिन्छ: उम्मेदवार लुइँटेल


काठमाडौं । ओखलढुङ्गाका प्रतिनिधि निधि सभा सदस्यका उम्मेदवार कुमार लुइँटेलले नेतृत्वको परिभाषामै नयाँ दृष्टिकोण प्रस्तुत गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेलले ओखलढुङ्गाको राजनीतिमा फरक बहस सुरु गराएका छन्। “नेता त्यो होइन जो भाषण धेरै गर्छ, नेता त्यो हो जो जनताको कुरा ध्यान दिएर सुन्छ,” भन्ने उनको भनाइ अहिले जिल्लामा मात्र नएर देशभर चर्चा र बहसको विषय बनेको छ।

लुइँटेलको यो सन्देश केवल भाषणमा सीमित छैन। पछिल्लो समय उनी गाउँ–गाउँ पुगेर स्थानीयको समस्या सुन्ने, किसान, युवा, महिला र ज्येष्ठ नागरिकसँग प्रत्यक्ष संवाद गर्ने क्रममा देखिएका छन्। यही शैलीका कारण उनलाई परम्परागत नेताभन्दा फरक, जनमुखी र सुन्ने नेतृत्वका रूपमा हेरिन थालेको राजनीतिक विश्लेषकहरू बताउँछन्।

ओखलढुङ्गामा विकास, रोजगारी, शिक्षा र आधारभूत सेवाका समस्या लामो समयदेखि दोहोरिँदै आएका छन्। यी विषयमा ठूलो भाषणभन्दा इमानदार सुन्ने र समाधान खोज्ने नेतृत्व आवश्यक भएको भन्दै लुइँटेलको धारणा स्थानीय अपेक्षासँग मेल खाएको देखिन्छ।

कांग्रेस स्रोतका अनुसार पार्टीले अबको चुनावी अभियानलाई अझ बढी जनसंवाद केन्द्रित बनाउने तयारी गरेको छ। घरदैलो अभियान, साना भेला र अन्तरक्रियामार्फत जनताका आवाज नीति र एजेन्डामा समेट्ने रणनीति लिइएको छ।

“ओखलढुङ्गालाई भाषण होइन, बुझाइ चाहिएको छ,” लुइँटेल निकट एक नेता भन्छन्, “त्यही कारण जनताले उनलाई आशा र परिवर्तनको प्रतिनिधिका रूपमा हेर्न थालेका छन्।”

यसपटकको निर्वाचन ओखलढुङ्गामा केवल उम्मेदवारको प्रतिस्पर्धा नभई कस्तो नेतृत्व चाहिन्छ भन्ने छनोट हुने संकेत देखिन थालेको छ।