Logo

मेघनाथ पहाडी

२६ माघ २०८२, सोमबार

चुनावी सरप्राइज: मैदानमा शत्रुता होइन खुशीको वर्षा


काठमाडौं । चुनावी मैदान भनेपछि सामान्यतया आरोप-प्रत्यारोप र तिखो घोचपेचको चित्र आँखा अगाडि आउँछ। तर, ओखलढुंगाको मानेभञ्ज्याङ–६, हिलेपानीमा भने दृश्य अर्कै थियो। जब नेकपा (एमाले) की ‘फायरब्रान्ड’ उम्मेदवार अस्मिता थापा र नेपाली कांग्रेसका हस्ती कुमार लुइँटेलको जम्काभेट भयो, त्यहाँको माहोल कुनै युद्धमैदान जस्तो होइन, एउटा पारिवारिक पुनर्मिलन जस्तो देखियो।
हात मिलाउँदा हाँसो, गफिँदा विकास!
चुनावी र्‍याली र घरदैलोको चटारोबीच आमनेसामने भएका यी दुई ‘हाइप्रोफाइल’ प्रतिस्पर्धीले एक-अर्कालाई देख्नेबित्तिकै तिखो कटाक्ष गरेनन्, बरु न्यानो मुस्कानसहित हात मिलाए। निर्वाचनको रस्साकस्सी एकातिर पन्छाउँदै उनीहरूले एक-अर्कालाई अगामी जितका लागि अग्रिम शुभकामना समेत साटासाट गरे।

अस्मिता थापाको तर्क: “चुनाव त एउटा उत्सव हो, यहाँ स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ। हामी त जनताको सेवा गर्न आएका हौं, शत्रुता साध्न होइन।”

कुमार लुइँटेलको जबाफ: “हो त नि! राजनीति भनेको संस्कारको खेल हो। हामीले जति सभ्य प्रतिस्पर्धा गर्छौं, जनताले त्यति नै ढुक्क भएर भोट हाल्छन्।”

दिग्गजहरूको साथ, सौहार्दपूर्ण माहोल
यो दृश्य हेर्न लायक तब बन्यो जब त्यहाँ जिल्लाका शीर्ष नेताहरूको पनि लस्कर देखियो। एमालेका केन्द्रीय सदस्य तथा पूर्व सांसद यज्ञराज सुनुवार, नेत्री रमिला मगर र कांग्रेसकी नेत्री बाला अधिकारीसहित नबराज केसी र रुद्र अधिकारीको उपस्थिति थियो। दुवै पक्षका कार्यकर्ताहरू आफ्ना नेताले अर्को पक्षसँग सौहार्दपूर्ण भलाकुसारी गरेको देखेर दंग परेका थिए।
“राजनीतिमा कहिलेकाहीँ यस्तो दृश्य देख्दा लाग्छ— ओखलढुंगाको राजनीति साँच्चिकै परिपक्व भएछ,” स्थानीय एक वृद्धले मुस्कुराउँदै भने।

जनतालाई के सन्देश?
गाउँमा चर्चा छ— चुनावमा भोट त जसले जिते पनि ओखलढुंगाले जित्नुपर्छ। अस्मिता र कुमारको यो ‘हिलेपानी भेट’ ले के प्रस्ट पारेको छ भने, पार्टीका झण्डा फरक भए पनि जिल्ला बनाउने सपना र एक-अर्काप्रतिको सम्मान भने साझा छ।

यो जम्काभेटले सामाजिक सञ्जालमा पनि निकै चर्चा पाएको छ। “यो पो हो त लोकतन्त्रको सुन्दरता!” भन्दै धेरैले यसलाई ‘ओखलढुंगा मोडेल’ को संज्ञा दिएका छन्।