Logo

मेघनाथ पहाडी

२७ माघ २०८२, मंगलबार

काठमाडौं–४ मा कांग्रेस चुनावी कार्यालय उद्घाटन, सचिनको ‘युवा नेतृत्व’ प्रतिवद्धता


काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार सचिन तिमल्सिनाले चुनावी सम्पर्क कार्यालय उद्घाटन गरेका छन्। क्षेत्रभित्रका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थितिमा कार्यालयको औपचारिक सञ्चालन सुरु गरिएको हो।

सम्पर्क कार्यालय स्थापना भएसँगै अब निर्वाचन क्षेत्रभित्रका कार्यक्रम सञ्चालन, मतदातासँग प्रत्यक्ष भेटघाट तथा स्थानीयका सुझाव संकलन गर्न सहज हुने बताइएको छ।

उद्घाटनपछि सम्बोधन गर्दै उम्मेदवार तिमल्सिनाले कार्यालयलाई क्षेत्रको विकास र समृद्धिको साझा केन्द्रका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले बेरोजगारी, अव्यवस्थित शहरीकरण र पुराना राजनीतिक शैलीका विरुद्ध आफूले अभियान चलाउने बताए।

“युवाहरू विदेश पलायन भइरहेको अवस्थामा ‘युवाका लागि युवा’ नै अघि सर्नुपर्छ,” उम्मेदवार तिमल्सेनाले भने, “मेरो प्राथमिकता रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा र भौतिक पूर्वाधार सुधारमा रहनेछ।”

तिमल्सिनाले गगन थापाले अघि सारेको विकासको मार्ग र कांग्रेसको राजनीतिक विरासतलाई निरन्तरता दिँदै युवाको नेतृत्व स्थापित गर्ने समय आएको पनि उल्लेख गरे।

कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताले तिमल्सिनाको उम्मेदवारीले क्षेत्रमा नयाँ उत्साह थपेको बताएका थिए। आगामी दिनमा यही कार्यालयमार्फत टोल–टोलमा पुगेर घरदैलो अभियानलाई तीव्रता दिने योजना कांग्रेसले सार्वजनिक गरेको छ।