Logo

बागमती पेज

२८ माघ २०८२, बुधबार

फेरिल्याण्डको शानदार प्रदर्शन: १० पदक सहित विजयी


काठमाडौँ । सातौँ प्रधान सेनापति छात्रा तेक्वान्दो प्रतियोगिता–२०८२ मा काठमाडौँको फेरिल्याण्ड ईन्टरनेश्नल स्कुलले ऐतिहासिक सफलता हासिल गरेको छ। नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त प्रतिष्ठित राष्ट्रिय प्रतियोगितामा फेरिल्याणका खेलाडीहरूले कुल १० पदक जित्न सफल भएका हुन्।

प्रतियोगितामा उत्कृष्ट कौशल प्रदर्शन गर्दै फेरिल्याणका छात्रा खेलाडीहरूले ३ रजत र ७ काँस्य पदक आफ्नो पोल्टामा पारेका छन्। विद्यालयका अनुसार रजत पदक जित्नेहरूमा १८ केजी तौल समूहमा कृशिला धर्ती मगर, १७ वर्ष मुनि एकल पुम्सेमा शोभा राई र १० वर्ष मुनि एकल पुम्सेमा मोक्क्षदा राई रहेका छन्।

यसैगरी, सामूहिक तथा व्यक्तिगत विधामा विद्यालयले काँस्य पदकको ओइरो नै लगाएको छ। १० वर्ष समूह पुम्सेमा मोक्क्षदा राई, आरोहि राई र पुजा राईको टोलीले काँस्य जितेको छ भने १२ वर्ष मुनि समूह पुम्सेमा कृपा राई, पुजा राई र आयुषा राईको टोलीले पदक सुरक्षित गरेको छ। ४९ केजी तौल समूहमा सृष्टि राईले पनि काँस्य पदक हात पारेकी छिन्।

विद्यालयले यस सफलताको मुख्य श्रेय खेलाडीहरूको अनुशासन, निरन्तरको कडा अभ्यास र प्रशिक्षक दिपक दुलालको कुशल मार्गदर्शनलाई दिएको छ। विजयी खेलाडीहरूलाई बधाई दिँदै विद्यालय प्रशासनले भविष्यमा अझै ठूला सफलता हासिल गर्न शुभकामना व्यक्त गरेको छ। प्रधान सेनापतिबाट पुरस्कार तथा पदक ग्रहण गर्ने अवसर पाउनुले विद्यार्थीहरूको मनोबल अझ उच्च भएको विद्यालयले जनाएको छ।

विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयको आयोजनामा भएको यस प्रतियोगितामा देशभरका विभिन्न विद्यालय तथा डोजाङका २२४ जना खेलाडीहरूको सहभागिता रहेको थियो।