Logo

मेघनाथ पहाडी

८ फाल्गुन २०८२, शुक्रबार

समृद्ध सिन्धुलीको संकल्प बोकेर अधुरा काम पूरा गर्न मैदानमा राजन दाहाल


Rajan-Dahal-sindhuli-2-bagmatipage-final.jpg

सिन्धुली । सिन्धुलीको राजनीतिमा एउटा यस्तो नाम, जसले व्यवस्था बदल्यौं, अब अवस्था बदल्छौं भन्ने दृढ संकल्पका साथ आफ्नो राजनीतिक यात्रालाई जनताको सेवामा समर्पित गरेको छ, ती हुन् राजन दाहाल। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट सिन्धुली क्षेत्र नं २ का उम्मेदवार दाहाल यतिबेला आफ्नो स्पष्ट खाका र प्रतिबद्धतासहित गाउँ बस्तीमा पुगेका छन्।

राजन दाहाल केवल नाराका लागि राजनीति गर्ने नेता होईनन् भन्ने प्रमाण उनको विगतको सक्रियताले दिन्छ। सिन्धुलीवासीका लागि सुखको साथीभन्दा पनि दुःखको सारथीका रूपमा परिचित छन्। २०७२ को विनाशकारी भूकम्प होस् या विश्वव्यापी कोरोना महामारी, दाहालले सधैं अग्रमोर्चामा उभिएर जनताको सेवा गरेका देश दुनियाले प्रष्ट देखेको छ।

भूकम्पका बेला हातमा चामलका बोरा बोकेर गाउँ–गाउँ पुग्नेदेखि, कोरोनाकालमा काठमाडौँमा अलपत्र परेका सिन्धुलीवासीलाई खानपिन र यातायातको व्यवस्था गरी सुरक्षित घर पुर्‍याउनेसम्मका कार्यले उनको जनप्रिय छविलाई थप उचाइ दिएको छ। शिवनगरमा अक्सिजन प्लान्टसहितको आइसोलेसन भवन निर्माणमा उम्मेदवार दाहालले खेलेको भूमिका सिन्धुलीको स्वास्थ्य इतिहासमा एउटा कोशेढुङ्गा मानिन्छ।

विगतको कार्यकालमा दाहालले सदनलाई सिन्धुलीको आवाज सुनाउने थलोको रूपमा प्रयोग गरे। मरिन र हरिहरपुरगढीका सुकुम्बासी र नदी कटान पीडितका पीडा हुन् वा सिन्धुलीका भुईँ मान्छेका समस्या, दाहालले ती मुद्दालाई सरकारको कानसम्म पुर्‍याउन कहिल्यै कञ्जुस्याइँ गरेनन्।

सुनकोशी नदीले वर्षौंदेखि कटान गरी सुकुम्बासी बनाएका भूमिहीनहरूको पक्षमा उनले उठाएको आवाजले नीतिगत तहमा हलचल ल्याएको थियो। उम्मेदवार दाहालले भने, सदनमा प्रस्तुत मेरा आवाजहरू सुन्न सरकार बाध्य भयो, फलस्वरुप धेरै योजनाहरू सफल भए र केही प्रक्रियामा छन्। प्रक्रियामा भएका योजना पुरा गर्न र सिन्धुलीका केही ठुला र दीर्घकालिन योजना पुरा गर्ने अठोट सहित पुनः निर्वाचनमा होम्मिएको हुँ।

यसपटक दाहालले आफ्नो प्रतिबद्धता पत्रमा सिन्धुलीको समृद्धिका लागि ५ वटा मुख्य आधारहरू प्रस्तुत गरेका छन् ।

पूर्वाधार र कनेक्टिभिटीः पालिकाका सदरमुकामदेखि वडासम्मका सडकहरूको स्तरउन्नति गर्ने, निर्माणाधीन सडकका लागि बजेट सुनिश्चित गर्ने र कमलामाई नगरपालिकामा चक्रपथ निर्माण गर्ने उनको प्राथमिकता छ। दुम्जा–लालबन्दी सडकलाई पूर्णता दिँदै ग्रामीण सडक सञ्जाललाई व्यवस्थित बनाउने दाहालको योजना छ।

गौरवका आयोजना र जलस्रोतः सुनकोशी–मरिन डाइभर्सन, कोखाजोर जलाशययुक्त आयोजना र चियावारी(खुर्कोट सुरुङ मार्गजस्ता राष्ट्रिय गौरवका आयोजनाहरूलाई समयमै सम्पन्न गराउन उनले विशेष पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

आधुनिक कृषि र निर्यातः सिन्धुलीको कृषि क्षेत्रलाई निर्वाहमुखीबाट व्यावसायिक बनाउन पकेट क्षेत्र निर्धारण गर्ने र मरिनमा उत्पादित राँगाको मासु निर्यात गर्ने योजनाले स्थानीय स्तरमा हजारौँ रोजगारी सिर्जना गर्ने मुख्य लक्ष्य छ।

शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तनः सिन्धुलीलाई शैक्षिक हबको रूपमा विकास गर्ने र कमलामाई–६ मा मिनी ट्रमा सेन्टर निर्माण गरी विपन्न नागरिकलाई सुलभ उपचारको ग्यारेन्टी गर्ने उम्मेदवार दाहालको संकल्प छ। साथै, एक घर, एक पानी सहितको धारा अभियानमार्फत शुद्ध खानेपानी पुर्‍याउने लक्ष्य राखिएको छ।

पर्यटन र पहिचानको जगेर्नाः ऐतिहासिक सिन्धुलीगढी, हरिहरपुरगढी, पञ्चकन्या पोखरी र माइस्थान मन्दिरजस्ता सांस्कृतिक धरोहरको संरक्षण र विकास गरी सिन्धुलीलाई पर्यटनको केन्द्र बनाउने योजना उनले अघि सारेका छन् ।

दाहालको यो निर्वाचन प्रचारमा एउटा नयाँ आयाम थपिएको छ, जेन–जी विद्रोहको भावनाको बदलिँदो समय र नयाँ पुस्ताको चाहनालाई बुझेर अघि बढ्ने उनको शैलीले युवा मतदाताहरूलाई आकर्षित गरेको छ। सुशासन, भ्रष्टाचार विरोधी अभियान र सामाजिक न्यायका लागि दाहालले देखाएको दृढताले सिन्धुलीको राजनीतिमा नयाँ ऊर्जा सञ्चार गरेको छ।

विगतको निर्वाचनमा तपाईंहरूले मलाई भारी मतले विजयी गराएका मतदाता समक्ष ३३ महिनामै संसद विघटन भएकाले कतिपय काम अधुरा रहे। तीनै बाँकी काम र सिन्धुलीको मुहार फेर्ने संकल्प पूरा गर्न म पुनः तपाईंहरूको बीचमा आएका दाहालको यो अपिलले मतदाताको मन छोएको छ।

विकासप्रेमी छवि, निडर स्वभाव र जनसेवाको लामो अनुभव बोकेका राजन दाहालको तारा चुनाव चिह्नले यसपटक सिन्धुलीको भविष्यमा कस्तो प्रकाश छर्छ, त्यो त आगामी निर्वाचनले नै देखाउनेछ। तर, उउम्मेदवार दाहालको कार्यक्षमता र भिजनले भने सिन्धुलीको विकासको यात्रालाई सही दिशा दिनेमा मतदाताहरू विश्वस्त छन्।