Logo

मेघनाथ पहाडी

८ फाल्गुन २०८२, शुक्रबार

सिन्धुली-१ मा एमालेका प्रदीप कटुवालको लोभलाग्दो घरदैलो


Pradip-Katuwal-bagmatipage.jpg

सिन्धुली । निर्वाचनको मिति नजिकिँदै गर्दा सिन्धुली क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ। यसपटकको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार प्रदीपकुमार कटुवालको पक्षमा देखिएको जनलहरले जिल्लाको राजनीतिक समीकरणलाई नयाँ मोड दिएको छ। विशेष गरी फिक्कलदेखि दुधौलीका फाँटहरूसम्म भइरहेको एमालेको व्यापक घरदैलो अभियानले विपक्षी खेमामा ढ्याङ्ग्रो ठोकेको छ।

सिन्धुली–१ मा एमालेको चुनावी प्रचार रणनीति यतिबेला सबैभन्दा व्यवस्थित र आक्रामक देखिएको छ। नेपाली कांग्रेस, नेकपा र नयाँ शक्तिका रूपमा आएको रास्वपाको तुलनामा एमालेको उपस्थिति गाउँ–गाउँमा निकै बाक्लो छ। उम्मेदवार प्रदीप कटुवाल आफैँ प्रत्येक टोल र बस्तीमा पुगेर जनताका समस्या सुन्ने र आफ्ना योजना सुनाउने कार्यमा व्यस्त छन्।

उनको घरदैलो अभियान केवल औपचारिक मात्र छैन, बरु वर्षौँदेखिको आत्मियता झल्किने खालको छ। चनौटेमा जन्मिएर स्थानीय माटोमै भिजेका कटुवाललाई मतदाताले ‘बाहिरिया’ नभई ‘घरकै मान्छे’ का रूपमा स्वीकार गरेका छन्। विपक्षी दलहरू बैठक र रणनीति बनाउनै अल्झिरहँदा, एमालेका कार्यकर्ताहरूले भने मतदाताको मन जित्न घर–घरमा पुगेर ‘समृद्धिको सन्देश’ पुर्‍याइसकेका छन्।

प्रदीप कटुवालको बलियो पक्ष भनेकै उनको ‘विकासवादी छवि’ हो। बागमती प्रदेशको स्वास्थ्य मन्त्री हुँदा उनले सिन्धुलीको स्वास्थ्य क्षेत्रमा जुन क्रान्ति ल्याए, त्यसको गुन तिर्न मतदाता आतुर देखिएका छन्। जिल्ला अस्पतालको स्तरोन्नति, ग्रामीण क्षेत्रमा स्वास्थ्य चौकीहरूको निर्माण र कोभिड महामारीका बेला अक्सिजन प्लान्ट स्थापना गर्न उनले खेलेको नेतृत्वदायी भूमिका अहिले उनको चुनावी पुँजी बनेको छ।

“हामीलाई भाषण गर्ने नेता होइन, काम गर्ने जनप्रतिनिधि चाहिएको हो, जुन प्रदीपले मन्त्री हुँदा प्रमाणित गरिसकेका छन्,” दुधौलीका एक स्थानीय युवा बताउँछन्। सडक सञ्जाल विस्तार र खानेपानी आयोजनामा उनले गरेको पहलकदमीले गर्दा नै यसपटक एमालेको पल्ला भारी देखिएको विश्लेषण गरिँदै छ।

सिन्धुली–१ को चुनावी मैदानमा मुख्य प्रतिस्पर्धा एमालेका प्रदीप कटुवाल र नेपाली कांग्रेसका उज्ज्वल बरालबीच नै हुने निश्चित छ। यद्यपि, संगठनको मजबुती र उम्मेदवारको व्यक्तिगत प्रभावका कारण एमाले अहिले केही कदम अगाडि देखिएको छ।

अघिल्लो निर्वाचनमा झिनो मतान्तरले पराजित भए पनि कटुवालले गत पाँच वर्ष हार मानेर घर बसेनन्। उनी निरन्तर जनताको सुख–दुःखमा साथै रहे। यही निरन्तरता नै अहिले उनको शक्ति बनेको छ। अर्कोतर्फ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र अन्य साना दलहरूको चर्चा सञ्चारमाध्यममा देखिए पनि सिन्धुली–१ को धरातलमा उनीहरूको प्रभाव नगन्य छ। मतदाताहरू ‘परीक्षण भइसकेको र नतिजा दिन सक्ने’ पाको नेताको खोजीमा छन्, जसमा प्रदीप कटुवाल खरो उत्रिएका छन्।

प्रदीप कटुवालको यसपटकको उम्मेदवारी केवल संसद् पस्नका लागि मात्र होइन, बरु सिन्धुलीलाई राष्ट्रिय राजनीतिको केन्द्रभागमा पुर्‍याउनका लागि हो। कृषि, पर्यटन र जलविद्युत्को प्रचुर सम्भावना बोकेको सिन्धुली–१ लाई समृद्ध बनाउने स्पष्ट ‘रोडम्याप’ उनीसँग छ।

नेकपा एमालेको सुदृढ संगठन, मन्त्री हुँदाको सफल कार्यकाल र जनतासँगको प्रत्यक्ष सामीप्यता, यी तीनवटा मुख्य आधारले प्रदीप कटुवाललाई यसपटक जितको नजिक पुर्‍याएको देखिन्छ। सिन्धुलीका मतदाताले यसपटक आफ्ना ‘सारथि’ रोज्ने निर्णय गरिसकेको आभास चुनावी माहोलले दिइरहेको छ।