बारा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै बारा निर्वाचन क्षेत्र नम्बर ४ को चुनावी माहौल एकाएक तातिएको छ।
यसपटकको प्रतिस्पर्धामा पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको इन्ट्रीले स्थापित भनिएका ठूला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई समेत तनाब थपिदिएको छ।
राष्ट्रिय परिवर्तन पार्टीबाट ‘बाँसुरी’ चुनाव चिह्न लिएर मैदानमा उत्रिएका खनालले मतदातामाझ पारेको प्रभाव र उनको सक्रियताले चुनावी समीकरण नै उल्ट्याउन सक्ने संकेत देखिएको छ। “नेतृत्व केवल पद र भाषण मात्र होइन, यो कठिन घडीमा नडगमगाउने साहस हो,” भन्ने मान्यताका साथ चुनावी घरदैलोमा व्यस्त खनाललाई स्थानीय युवा र परिवर्तन चाहने मतदाताले ‘परिणाममुखी नेतृत्व’ को रूपमा हेर्न थालेका छन्।
बाराका टोल–टोलमा पुगेर मत मागिरहेका खनालको पक्षमा देखिएको जनलहरले पुराना दलका उम्मेदवारहरूलाई रक्षात्मक अवस्थामा पुर्याएको स्थानीय राजनीतिक विश्लेषकहरू बताउँछन्। प्रहरी सेवामा रहँदा तराईमा अपराध र सशस्त्र समूहलाई निस्तेज पारेको उनको विगतको छवि अहिले उनको सबैभन्दा ठूलो शक्ति बनेको छ। मतदाताहरू भन्छन्, “हामीले वर्षौँदेखि नारामुखी नेता देख्यौँ, अब अनुभव, निडरता र दूरदर्शिता भएको सर्वेन्द्र खनाल जस्तो नेतृत्व चाहिएको छ।”
खनालको यो सक्रियताले विशेषगरी एमालेका उम्मेदवार किसान श्रेष्ठ र कांग्रेसका श्यामबाबु गुप्ताका लागि ठूलो चुनौती खडा गरिदिएको छ। त्यस्तै, रास्वपाका रहबर अन्सारीको प्रभाव क्षेत्रमा पनि खनालले उल्लेख्य ‘सेध’ लगाएको देखिन्छ। सिमरालाई केन्द्र बनाएर युवा पुस्ता (जेनजी) सँगको सघन संवाद र घरदैलोले खनाललाई एउटा वैकल्पिक तर बलियो शक्तिको रूपमा स्थापित गरेको छ।
देशको सुरक्षित भविष्य र राष्ट्र निर्माणका लागि ‘बाँसुरी’ चिह्नमा मतदान गर्न खनालले गरिरहेको अपिलले यतिबेला बारा–४ मा नयाँ तरंग पैदा गरेको छ। उम्मेदवार खनाल भन्छन्, समय आएको छ, सही नेतृत्व चिन्ने र देशको जिम्मा सुम्पिने। म केवल चुनाव लड्न आएको होइन, बाराको साख र सुरक्षाको ग्यारेन्टी गर्न आएको हुँ।
बारा–४ का मतदाताले यसपटक अनुभवी र निडर नेतृत्वलाई रोज्ने मुड बनाएको देख्दा, खनालको यो तेस्रो चुनावी प्रतिस्पर्धा उनका लागि सुखद हुने र ठूला दलहरूको ‘सिन्डिकेट’ तोडिने अनुमान गर्न थालिएको छ।












प्रतिक्रिया दिनुहोस्