Logo

बागमती पेज

९ फाल्गुन २०८२, शनिबार

नक्कली राष्ट्रवादको जालझेल: जनता ठग्ने बालेनको नागरिकता रद्द गर्न गृहमा उजुरी


काठमाडौँ। काठमाडौँका निवर्तमान मेयर तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) माथि आफ्नो असली थर लुकाएर राज्यलाई झुक्याएको भन्दै गृह मन्त्रालयमा गम्भीर उजुरी परेको छ।

आफूलाई कानुनको मसिहा र परिवर्तनको संवाहक दाबी गर्ने बालेनले व्यक्तिगत स्वार्थ र घमण्डका लागि नागरिकताको विवरण नै कीर्ते गरेको दाबी गर्दै शुक्रबार युवराज सफलले उजुरी दर्ता गराएका हुन्।

उजुरीमा उल्लेख भए अनुसार, बालेनले २०६३ पुस ६ गते महोत्तरीबाट वंशजको नागरिकता लिँदा उनको थर ‘साह’ थियो। तर, काठमाडौँको मेयर पदमा पुगेपछि शक्ति र पहुँचको दुरुपयोग गर्दै २०७९ असार १९ गते नागरिकताको प्रतिलिपि लिँदा उनले गैरकानुनी रूपमा आफ्नो थर बदलेर ‘शाह’ बनाएका छन्।

अरूलाई साना गल्तीमा डोजर चलाएर नैतिकता सिकाउने बालेनले आफ्नै पहिचान र वंश लुकाउन गरेको यो जालझेलले उनको ‘नक्कली’ राष्ट्रवाद र नैतिकताको मुकुण्डो उतारेको छ।

नागरिकता ऐन २०६३ को दफा १२ र १७ को ठाडो उल्लंघन गर्दै झुटो विवरण पेश गरी थर परिवर्तन गरेकाले बालेनको नागरिकता तत्काल रद्द गर्न र उनलाई पाँच वर्ष जेल सजाय तथा एक लाख जरिवाना गर्न उजुरीमा माग गरिएको छ।

आफ्नै बुबा रामनारायण साह र परिवारका सबै सदस्यको थर ‘साह’ हुँदाहुँदै बालेनले कुन आधारमा रातारात आफूलाई ‘शाह’ खानदानको देखाउन खोजे भन्ने प्रश्नले अहिले सामाजिक सञ्जालमा समेत उनको कडा आलोचना भइरहेको छ।

कानुन सबैका लागि बराबर हुने भन्दै, यस्तो कीर्ते काम गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउनुपर्ने दबाब गृह मन्त्रालयमाथि बढेको छ।