काठमाडौँ । नेपाली कांग्रेसको गढ मानिने ओखलढुंगामा यसपटकको चुनावी सरगर्मी भिन्न छ। वि.सं. २०३० सालदेखि ओखलढुंगाको राजनीतिमा बलबहादुर राई एउटा नाम मात्र थिएन, एउटा इतिहास थियो। पछि त्यो लिगेसीलाई रामहरि खतिवडाले कुशलतापूर्वक अगाडि बढाए।
तर, यसपटकको निर्वाचनमा कांग्रेसले आफ्नो परम्परागत धारमा परिवर्तन गर्दै नयाँ उम्मेदवार कुमार लुइँटेललाई अगाडि सारेर जिल्लाबासी र राजनीतिक वृत्तलाई सरप्राइज दिएको छ।विद्यार्थी राजनीतिदेखि संसदीय यात्रासम्म २०३० सालमा ओखलढुंगाको बलखुमा जन्मिएका कुमार लुइँटेल गफभन्दा काम र अध्ययनमा विश्वास गर्ने नेताका रूपमा चिनिन्छन्।
२०४५ सालमा पद्मोदय हाइस्कूलबाट नेविसंघको इकाइ सचिव भएर सुरु भएको उनको राजनीतिक यात्रा झण्डै साढे तीन दशकपछि संसदीय प्रतिस्पर्धाको बिन्दुमा आइपुगेको छ। विज्ञान, द्वन्द्व, शान्ति र विकास अध्ययनमा स्नातकोत्तर गरेका लुइँटेलले गगन थापा स्वास्थ्यमन्त्री हुँदा सल्लाहकारका रूपमा काम गरेर आफ्नो प्रशासनिक र नीतिगत क्षमता प्रदर्शन गरिसकेका छन्। २०६२/०६३ को जनआन्दोलनमा जिल्ला सचिव भएर आन्दोलन परिचालन गरेका उनी पार्टीभित्र ‘बौद्धिक र निष्ठावान्’ नेताको छवि बनाउन सफल छन्।
शक्ति सन्तुलन र चुनौतीका चाङकांग्रेसले खतिवडा जस्ता ‘हेभीवेट’ नेतालाई विश्राम दिएर लुइँटेललाई टिकट दिनुलाई धेरैले पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यास र पुस्तान्तरणका रूपमा हेरेका छन्। यद्यपि, उनको यात्रा सहज भने देखिँदैन।
‘नयाँ भर्सेज अनुभवी’लुइँटेलको अगाडि यसपटक चुनौतीका पहाडहरू कम छैनन्। उनले नेकपाका अम्बिरबाबु गुरुङ, एमालेकी अस्मिता थापा र रास्वपाका विश्वराज पोखरेल जस्ता प्रभावशाली उम्मेदवारहरूसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।
विशेषगरी एमालेका पुराना र प्रभावशाली नेताहरू नेकपातिर लागेपछि एमाले उम्मेदवार थापालाई केही कमजोर आँकिएको छ, जसको प्रत्यक्ष लाभ लुइँटेललाई पुग्न सक्ने राजनीतिक विश्लेषकहरूको अनुमान छ।
ओखलढुंगाका मतदाताले यसपटक पुरानो बिरासतको ब्याज मात्र खोज्छन् कि कुमार लुइँटेलको बौद्धिक र नयाँ कार्यशैलीलाई अनुमोदन गर्छन्, त्यो त चुनावी परिणामले नै देखाउनेछ।
तर, गगन थापाको निकट रहेर काम गरेका र पार्टीको तल्लो तहबाटै खारिएर आएका लुइँटेलका लागि यो निर्वाचन ‘अग्निपरीक्षा’ र ‘अवसर’ दुवै हो।












प्रतिक्रिया दिनुहोस्