काठमाडौं । राजनीतिमा पुस्तान्तरण र नयाँ सोचको बहस चलिरहँदा काठमाडौं क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका तर्फबाट ३३ वर्षीय युवा उम्मेदवार सचिन तिमल्सिनाले आफ्नो स्पष्ट भिजन सार्वजनिक गरेका छन्।
सोमबार मैतिदेवीमा आयोजित एक विशेष समारोहका बीच उनले आगामी पाँच वर्षका लागि १० वटा मुख्य प्राथमिकतासहितको ‘प्रतिज्ञापत्र’ सार्वजनिक गरेका हुन्।
विगत तीनवटा निर्वाचनमा गगन थापाले विरासत जोगाएको यस क्षेत्रमा, थापा सभापति बनेर सर्लाही-४ तिर लागेपछि सचिनले उक्त कमान सम्हालेका छन्।
उम्मेदवारीसँगै उनीप्रति बढेको आकर्षण र हालै सार्वजनिक गरिएको प्रतिज्ञापत्रले यस क्षेत्रको चुनावी माहोललाई थप रोचक र सचिनको पक्षमा बलियो बनाएको छ।
सुशासनदेखि डिजिटल सेवासम्म: १० बुँदे कार्य–सम्पादन मानक
तिमल्सिनाले आफ्नो प्रतिज्ञापत्रमा केवल आश्वासन मात्र नभई ‘कार्य-सम्पादनको मानक’ समेत प्रस्तुत गरेका छन्। उनका १० मुख्य प्रतिज्ञाहरू यस प्रकार छन्:
सुशासन र विधिको शासन: सरकारी सेवालाई पूर्ण रूपमा डिजिटल र ‘फेसलेस’ बनाउँदै अनावश्यक तजबिजी अधिकार कटौती गर्ने।
पूर्वाधार विकास: सडक, ट्राफिक व्यवस्थापन, फुटपाथ र वैकल्पिक यातायातको वैज्ञानिक सुधार।
भूमिसुधार र व्यवस्थित बसोबास: विशेष गरी कपन क्षेत्रको अव्यवस्थित बसोबासलाई वर्गीकरण गरी दीर्घकालीन समाधान खोज्ने।
आधुनिक कृषि: अर्गानिक उत्पादनको अन्तर्राष्ट्रिय ब्रान्डिङ र चक्लाबन्दी खेतीलाई प्रोत्साहन।
स्वास्थ्य क्षेत्रको सुधार: गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवाको सुनिश्चितता।
उद्यमशीलता र रोजगारी: सूचना प्रविधिको विकासमार्फत युवाहरूलाई स्वदेशमै रोजगारीका अवसर।
समयसापेक्ष र प्रविधिमैत्री शिक्षा प्रणाली।
धार्मिक-सांस्कृतिक सम्पदाको जगेर्ना र जलवायु न्यायका लागि प्राकृतिक स्रोतको संरक्षण।
लैंगिक समानता र पछाडि पारिएका समुदायको अधिकार प्रत्याभूति।
काठमाडौं उपत्यकाको समग्र विकासका लागि एकीकृत योजना।
सचिनले भूगोल र आवश्यकतालाई बुझ्दै बुढानीलकण्ठ नगरपालिका र काठमाडौं महानगरपालिकाभित्र पर्ने वडाहरूका लागि छुट्टाछुट्टै स्थानीय मुद्दाहरू समेटेर दुई वटा प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्। यसले उनले स्थानीय समस्यालाई नजिकबाट नियालेको स्पष्ट पार्छ।
गगन थापाको प्रस्थानपछि काठमाडौं ४ का मतदाताले एक भरोसायोग्य र जोसिलो नेतृत्व खोजिरहेका थिए। ३३ वर्षीय सचिनले आफ्नो स्पष्ट वक्ताको छवि र विकासको ठोस खाका प्रस्तुत गरेपछि युवा तथा पुराना कार्यकर्ताहरूमा समेत नयाँ उत्साह देखिएको छ।
“युवाले नै युवाको भावना बुझ्छ र प्रविधिको युगमा काम गर्न सक्छ” भन्ने मान्यताले गर्दा सचिनको पक्षमा अहिले सकारात्मक जनलहर सिर्जना भएको छ।
मैतिदेवीको कार्यक्रममा सहभागी नेता-कार्यकर्ताहरूको बाक्लो उपस्थितिले पनि के संकेत गर्छ भने काठमाडौं ४ ले यसपटक नयाँ अनुहारमार्फत विकासको नयाँ अध्याय सुरु गर्न चाहेको छ।












प्रतिक्रिया दिनुहोस्