सिन्धुली । सिन्धुलीको माटोमा जन्मिएर यहाँका गाउँ-बस्ती र स्थानीय समस्यालाई नजिकबाट बुझेका प्रदीप कुमार कटुवाल यतिबेला सिन्धुली क्षेत्र नम्बर १ को विकास र समृद्धिको स्पष्ट मार्गचित्रसहित चुनावी मैदानमा उत्रिएका छन्।
नेकपा (एमाले) का तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका कटुवालले “विकासलाई नारामा होइन, परिणाममा देखाउने” अठोटका साथ आफ्ना योजनाहरू सार्वजनिक गरेका हुन्।
उनले आगामी पाँच वर्षमा स्थानीय जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी पूर्वाधार, रोजगारी, स्वास्थ्य र शिक्षामा आमूल सुधार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
कटुवालको मुख्य प्राथमिकतामा शिक्षा क्षेत्रको रूपान्तरण रहेको छ। उनले विद्यालयहरूलाई प्रविधिमैत्री बनाउँदै प्राविधिक विषयमा जोड दिने र ‘एक विद्यालय-एक नर्स’ जस्ता सिर्जनशील कार्यक्रम लागू गर्ने योजना अघि सारेका छन्।
स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरूलाई प्रोत्साहन गर्दै उनीहरूलाई ग्रामीण विकासमा परिचालन गर्ने र स्थानीय कला, संस्कृति एवं पर्यटनलाई समेटिएको पाठ्यक्रम विकास गर्ने उनको लक्ष्य छ।
विशेष गरी युवाहरूलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन डिजिटल सीप, एआई, कोडिङ र डिजिटल मार्केटिङ जस्ता आधुनिक तालिमहरू विद्यालय तहदेखि नै सुरु गर्ने उनको मार्गचित्रमा उल्लेख छ।
सुशासन र सामाजिक न्यायलाई आफ्नो राजनीतिको मूल मन्त्र बनाएका कटुवालले भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या समाधान गर्ने ठोस योजना प्रस्तुत गरेका छन्।
मुसहर तथा विपन्न परिवारका लागि आवास कार्यक्रम सञ्चालन गर्नेदेखि लिएर जिल्लाको ठूलो समस्याको रूपमा रहेको हात्ती आतंक नियन्त्रणका लागि प्रभावकारी उपायहरू अपनाउनेसम्मका विषयलाई उनले आफ्नो एजेन्डामा समेटेका छन्।
साथै, चुरे तथा महाभारत क्षेत्रमा हुने भू-क्षय नियन्त्रणका लागि विशेष नीति लिने र औद्योगिक क्षेत्र स्थापनामार्फत स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने उनको दाबी छ।
रोजगारी र उद्यमशीलता विकासका लागि कटुवालले स्टार्टअप र साना व्यवसायलाई सहुलियत ऋण तथा कर छुटको व्यवस्था गर्ने योजना बनाएका छन्।
वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई उनीहरूको अनुभव र सीप अनुसार स्वदेशमै पुनः एकीकरण गर्ने र कृषि, पर्यटन एवं सूचना-प्रविधिको क्षेत्रमा युवा लक्षित कार्यक्रमहरू सञ्चालन गर्ने उनले बताएका छन्।
सिन्धुली क्षेत्र नम्बर १ का मतदाताहरूसँग आफ्नो अमूल्य मत दिएर विजयी गराउन अपिल गर्दै उनले सूर्य चिन्हमा मतदान गरी आफूलाई सेवा गर्ने अवसर दिन आग्रह गरेका छन्।












प्रतिक्रिया दिनुहोस्