Logo

मेघनाथ पहाडी

१५ फाल्गुन २०८२, शुक्रबार

भ्रमको राजनीति चिर्न र लोकतन्त्र जोगाउन कांग्रेसलाई जिताऔँ: नेपाली लेखक संघ


काठमाडौँ । नेपाली लेखक संघले मुलुकमा व्याप्त नकारात्मक भाष्य र भ्रमको राजनीतिलाई चिर्दै लोकतन्त्रको सुदृढीकरणका लागि नेपाली कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन देशभरका लेखक तथा बुद्धिजीवीहरूमा विशेष अपिल गरेको छ।

बुढानीलकण्ठमा आयोजित एक कार्यक्रमका बीच संघका अध्यक्ष वियोगी बुढाथोकी र महासचिव सोझो गाउँलेले संयुक्त अपिल जारी गर्दै वर्तमान राजनीतिक संकटको निकास कांग्रेसबाट मात्र सम्भव रहेको जिकिर गरेका हुन्।

जारी अपिलमा केही राजनीतिक दलहरूले समाजमा घृणा र विभाजन ल्याउन खोजेको भन्दै गम्भीर चिन्ता व्यक्त गरिएको छ। विज्ञप्तिमा भनिएको छ:

यसबेला केही राजनीतिक दल समाजमा विद्वेष फैलाएर आफू स्थापित हुन खोजिरहेका छन्। देशमा नकारात्मक भाष्य खडा गरेर स्थापित मूल्यमान्यताको साख गिराउने र भ्रमको सञ्जाल बुनेर नागरिकलाई गुमराहमा पार्दै आफ्नो रोटी सेक्ने काम गरिरहेका छन्। यस्तो अवस्थामा आम नागरिकलाई सचेत गराई समाजलाई सही मार्ग देखाउनु कवि, लेखक एवम् बुद्धिजीवी वर्गको कर्तव्य हुन आउँछ।

संघले अभिव्यक्ति एवं लेखकीय स्वतन्त्रता संकुचित भएमा साहित्य र सिर्जनात्मक कार्यहरू कुण्ठित हुने भन्दै प्रश्न गर्ने अधिकारको रक्षाका लागि कांग्रेसको जित आवश्यक रहेको बताएको छ।

महासचिव सोझो गाउँलेका अनुसार, लोकतन्त्रको संस्थागत विकास र सुदृढीकरण नेपाली कांग्रेसद्वारा मात्र सम्भव छ भन्ने तथ्य यो पार्टीको सिद्धान्त र नीतिले मात्र होइन, अहिलेसम्मको व्यवहार र अभ्यासले समेत प्रमाणित गरेको छ।

अध्यक्ष वियोगी बुढाथोकीले स्थापना कालदेखि नै संकटको बेला राष्ट्रलाई नेतृत्व दिँदै आएको कांग्रेसले मात्र देशलाई अहिलेको अवस्थाबाट सम्हालेर अगाडि लैजान सक्ने विश्वास व्यक्त गरे।

संघले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आ-आफ्नो क्षेत्रमा सक्रिय भई लोकतान्त्रिक शक्तिलाई विजयी बनाउन देशभरका सम्पूर्ण कवि, लेखक एवं बुद्धिजीवी वर्गलाई हार्दिक अपिल समेत गरेको छ।