सिन्धुली। नेकपा (एमाले) बाट सिन्धुली क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप कुमार कटुवाल यतिबेला आफ्नो निर्वाचन क्षेत्रका प्रायः सबै बस्तीहरू छिचोलेर घरदैलो अभियानको अन्तिम चरणमा पुगेका छन्।
निर्वाचन क्षेत्रका गाउँबस्ती र टोलटोलमा पुग्दा उनले पाएको न्यानो स्वागत र जनसमर्थनले सिन्धुलीमा एमालेको पक्षमा अभूतपूर्व माहोल सिर्जना गरेको छ। घरदैलोका क्रममा मतदातामा देखिएको उत्साह र स्थानीयको बाक्लो उपस्थितिले गर्दा यसपटक सिन्धुली–१ मा एमाले जितको निकै नजिक पुगेको विश्लेषण गर्न थालिएको छ।
हुन त यस क्षेत्रमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ, तर कटुवालले अघि सारेको ८ बुँदे समृद्धिको मार्गचित्र र उनको विकासप्रेमी छविले प्रतिस्पर्धीलाई निकै पछि पारेको छ।
उनले भौतिक पूर्वाधारअन्तर्गत हरेक वडा कालोपत्रे सडक सञ्जालमा जोड्ने, पर्यटनमा “स्थानीय सम्पदा, राष्ट्रिय आकर्षण” बनाउने र कृषिमा “एक गाउँ, एक उत्पादन” मार्फत क्षेत्रलाई आत्मनिर्भर बनाउने ठोस योजना अघि सारेका छन्।
यस्तै, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा, प्रविधिमैत्री प्रतिस्पर्धी शिक्षा, सुशासन र सामाजिक न्याय, रोजगारी तथा उद्यमशीलता विकास र सीपमूलक प्राविधिक शिक्षालाई उनले आफ्नो मुख्य एजेन्डा बनाएका छन्।
विगतमा स्वास्थ्य मन्त्री र प्रदेश सभा सदस्यका रूपमा उनले गरेका सफल कामको मूल्यांकन गर्दै जनताले यसपटक कटुवाललाई नै भारी मतले विजयी गराउने संकेत देखिएको छ।
घरदैलोका क्रममा देखिएको यो लोभलाग्दो जनलहर र विपक्षीको तुलनामा एमालेको सुदृढ संगठनका कारण प्रदीप कटुवाल यतिबेला जितको अन्तिम विन्दुमा पुगेका हुन्।
सिन्धुलीको जगैदेखि विकास र समृद्धिका लागि “परीक्षण भइसकेको र नतिजा दिन सक्ने” अनुभवी नेताको रूपमा कटुवालको पक्षमा जनमत निकै बलियो बनेको छ।












प्रतिक्रिया दिनुहोस्