Logo

बागमती पेज

२१ फाल्गुन २०८२, बिहिबार

देशभर मतदान सुरु


काठमाडौं । मुलुकको आगामी पाँच वर्षको राजनीतिक दिशा निर्देश गर्ने प्रतिनिधिसभा निर्वाचन २०८२ को मतदान आज बिहान ७ बजेदेखि देशभर एकसाथ सुरु भएको छ।

निर्वाचन आयोगका अनुसार बिहानैदेखि काठमाडौँको चुच्चेपाटी लगायत देशका विभिन्न मतदानस्थलमा मतदाताहरूको उत्साहजनक उपस्थिति देखिएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभरका सबै मतदान केन्द्रमा निर्धारित समयमै र निर्वाध रूपमा मतदान कार्य सुरु भएको जानकारी दिनुभएको छ। मतदाताहरूले आज अपराह्न ५ बजेसम्म आफ्नो मताधिकार प्रयोग गर्न पाउनेछन्।

आयोगले मतदानका लागि अनिवार्य रूपमा परिचय खुल्ने कागजपत्रको व्यवस्था गरेको छ। मतदाता परिचयपत्र नहुनेहरूका लागि नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतिपत्र, राहदानी वा लालपूर्जा देखाएर पनि मतदान गर्न पाउने सहज व्यवस्था मिलाइएको छ।

मतदान प्रक्रियालाई व्यवस्थित बनाउन महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको प्रबन्ध गरिएको छ भने अपाङ्गता भएका व्यक्ति, अशक्त, वृद्धवृद्धा, बिरामी, सुत्केरी र गर्भवतीहरूलाई लाइनमा नबसी मतदान गर्न पाउने विशेष सुविधा प्रदान गरिएको छ।

यसपटकको निर्वाचनका लागि आयोगले देशभर १० हजार ९६७ मतदान स्थल र २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरेको छ। सुरक्षा संवेदनशीलताका आधारमा मतदान केन्द्रहरूलाई तीन तहमा वर्गीकरण गरिएको छ, जसमा ३ हजार ६८० अति संवेदनशील, ४ हजार ४४२ संवेदनशील र २ हजार ८४५ सामान्य केन्द्र रहेका छन्।

यसका साथै कर्मचारी, सुरक्षाकर्मी र थुनुवाहरूका लागि १४३ अस्थायी मतदानस्थलको समेत व्यवस्था गरिएको छ।

निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले ठूलो संख्यामा सुरक्षा जनशक्ति परिचालन गरेको छ। सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, १ हजार ९२१ राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी र १ लाख ४९ हजार ९० म्यादी प्रहरी खटिएका छन्।

मतदान कार्यलाई सफलतापूर्वक सम्पन्न गराउन सुरक्षाकर्मीका अतिरिक्त करिब २ लाख १५ हजार सरकारी कर्मचारीहरू पनि कार्यथलोमा खटिएका छन्।