Logo

बागमती पेज

२७ फाल्गुन २०८२, बुधबार

एमाले ढलेको हो, मरेको छैन : योगेश भट्टराई


काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीको वर्तमान अवस्थालाई लिएर निकै कडा र स्पष्ट धारणा सार्वजनिक गरेका छन्। उनले एमाले अहिले केही कमजोर देखिए पनि समाप्त नभएको दाबी गर्दै पार्टीलाई नयाँ उर्जाका साथ अगाडि बढाउन नेतृत्व परिवर्तनको आवश्यकता औंल्याएका हुन्। एमाले अहिले ढलेको मात्र हो, मरेको छैन भन्दै उनले कार्यकर्तालाई निराश नहुन आग्रह गरे।

राजनीतिमा उतारचढाव स्वाभाविक हुने भए तापनि पार्टीलाई पुनर्जीवन दिन अब पुरानो पुस्ताले बाटो खालि गरिदिनुपर्ने उनको तर्क छ। पार्टीभित्रको आन्तरिक लोकतन्त्र र भविष्यका चुनौतीका बारेमा बोल्दै योगेशले अध्यक्ष केपी शर्मा ओलीलाई अब नेतृत्व छाडेर अभिभावकीय भूमिकामा बस्न सुझाव दिएका छन्। उनले अध्यक्ष ओलीलाई पदबाट राजीनामा दिएर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आग्रह समेत गरे।

समयको माग र बदलिँदो राजनीतिक परिवेश अनुसार पार्टीलाई अगाडि बढाउन युवा नेतृत्वको विकल्प नभएको उनले उल्लेख गरे। ओलीले मार्गप्रशस्त गरेमा मात्रै एमालेमा नयाँ रक्तसञ्चार हुने र आगामी निर्वाचनमा पार्टीले गुमेको साख फिर्ता ल्याउन सक्ने उनले जिकिर गरे।

योगेशले पार्टीभित्रको कार्यशैलीमा सुधार ल्याउनु पर्नेमा जोड दिँदै अबको नेतृत्वले विचार र संगठन दुवैलाई सन्तुलित ढंगले लैजानुपर्ने बताएका छन्। विपक्षीहरूले एमालेको अन्त्य भयो भन्दै फैलाएको भ्रमलाई चिर्नका लागि पनि पार्टीमा परिवर्तनको आभास दिलाउनु पर्ने उनको भनाइ छ।

एमालेका लाखौँ कार्यकर्ताको मनोबल उच्च राख्न र देशको प्रमुख शक्तिको रूपमा स्थापित हुन नेतृत्व तहले गम्भीर आत्मसमीक्षा गर्दै अघि बढ्नुपर्नेमा उनले विशेष जोड दिएका छन्।