Logo

बागमती पेज

२८ फाल्गुन २०८२, बिहिबार

एनआरएनए निर्वाचन: क्यानडाका पूर्व अध्यक्ष माधव दुलालद्वारा सचिव पदमा उम्मेदवारी घोषणा


गैरआवासीय नेपाली संघ (NRNA) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सचिव पदका लागि माधव दुलालले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ। एनआरएनए एनसीसी क्यानडाको २०२३–२०२५ कार्यकाल सफलताका साथ पूरा गर्नुभएका दुलालले आगामी कार्यकालका लागि केन्द्रमा रहेर गैरआवासीय नेपालीहरूको हकहितका लागि काम गर्ने अठोटका साथ सचिव पदमा प्रतिस्पर्धा गर्ने घोषणा गर्नुभएको हो। आगामी मार्च १४ देखि १६ सम्म काठमाडौंमा आयोजना हुने एनआरएनएको अन्तर्राष्ट्रिय अधिवेशनका क्रममा नयाँ नेतृत्वका लागि निर्वाचन हुने तय भएको छ र सोही निर्वाचनलाई लक्षित गर्दै उहाँले आफ्नो उम्मेदवारी औपचारिक रूपमा दर्ता गराउनुभएको हो।

​दुलालले आफ्नो उम्मेदवारीसँगै संघलाई थप पारदर्शी, समावेशी र प्रविधिमैत्री बनाउन केही महत्वपूर्ण र दूरगामी एजेन्डाहरू पनि सार्वजनिक गर्नुभएको छ। उहाँको प्रमुख एजेन्डामा हाल प्रयोगमा रहेको प्रतिनिधि (डेलीगेट) मार्फत निर्वाचन हुने प्रणालीलाई अन्त्य गरी विश्वभर रहेका सबै पञ्जीकृत सदस्यहरूले प्रत्यक्ष रूपमा अनलाइन मतदान गर्न सक्ने प्रणाली लागू गर्ने योजना रहेको छ। यसका साथै उहाँले देशको मानव स्रोत विकासलाई प्राथमिकता दिँदै स्किल ट्रेनिङ सेन्टरहरूको विकास गर्ने र विदेश जाने नेपाली कामदारका समस्याहरू तत्काल समाधान गर्न ‘हाई लेभल सपोर्ट सेन्टर’ स्थापना गर्ने लक्ष्य राख्नुभएको छ।

​नेपालमा विकास र रोजगारी सिर्जनाका लागि विश्वभर रहेका नेपालीहरूबाट ‘सीड मनी’ अर्थात् प्रारम्भिक लगानी कोष संकलन गर्ने पहल गर्ने विषयलाई पनि उहाँले आफ्नो कार्ययोजनामा समेट्नुभएको छ। यसैगरी, हाल एनसीसी (NCC) ले आइसीसी (ICC) लाई बुझाउँदै आएको लेबी प्रणाली अन्त्य गरी आइसीसीलाई वैकल्पिक आर्थिक स्रोतहरूमार्फत आत्मनिर्भर बनाउने विषयलाई उहाँले विशेष प्राथमिकतामा राख्नुभएको छ। उम्मेदवार दुलालले विश्वभर रहेका गैरआवासीय नेपालीहरूलाई आफ्ना सुझाव, एजेन्डा तथा प्रतिक्रियाहरू साझा गर्न आग्रह गर्दै आगामी निर्वाचनमा सम्पूर्ण पञ्जीकृत सदस्यहरूको मत र समर्थनको हार्दिक अपेक्षा व्यक्त गर्नुभएको छ।