काठमाडौं । बुढानीलकण्ठ नगरपालिका भित्र बग्ने रुद्रमति–धोविखोला सरसफाई कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नगरपालिका वातावरण शाखाको समन्वयमा २०८२ माघ १५ गतेदेखि सुरु भएको यो अभियान फागुन १४ गतेसम्म निरन्तर सञ्चालन गरी समापन गरिएको हो।
सरसफाई कार्यलाई पूर्ण रूपमा प्रभावकारी बनाउन ५ वटा विशेष समूहमा विभाजन गरी जम्मा ६० जना सरसफाईकर्मी परिचालन गरिएको वातावरण शाखा प्रमुख बिनोद पाठकले जानकारी दिए। उनले यो अभियानले नदीको स्वच्छता कायम राख्न ठूलो मद्दत पुगेको र सरसफाईकर्मीको मेहनतले गर्दा तोकिएको क्षेत्रमा उल्लेख्य सुधार आएको बताए।
उक्त सरसफाई कार्यक्रम वडा नं १३ चुनिखेलदेखि साततल्लेसम्म बुढानीलकण्ठ नगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने रुद्रमति–धोविखोलाको भागमा केन्द्रित थियो। कार्यक्रमका क्रममा नदी किनार तथा आसपास क्षेत्रमा जम्मा भएको फोहोर व्यवस्थापन गर्नुका साथै नदी र करिडोरलाई सफा, स्वच्छ र व्यवस्थित बनाउने कार्य गरिएको छ।
आज शुक्रबार रुद्रमति धोविखोला सरसफाईका क्रममा सरसफाईकर्मीहरूले आफूहरूले काम गर्दा भोगेका विभिन्न समस्याहरू उठान गर्नुका साथै नगरलाई सफा राख्न नगरबासीहरूलाई आग्रह गर्दै सन्देशमूलक र्याली समेत आयोजना गरे।
र्यालीका क्रममा “हामीले सरसफाई गर्यौं, कृपया तपाईंहरू फोहोर नगर्नुहोस्”, “हाम्रो बुढानीलकण्ठ, राम्रो बुढानीलकण्ठ” तथा “आहा बुढानीलकण्ठ” जस्ता नाराहरू लगाई नगरबासीहरूलाई सरसफाई तथा नदी संरक्षणका लागि सचेत गराइएको थियो।
यस अवसरमा नगर प्रमुख मिठाराम अधिकारीले नदी हाम्रो सभ्यता र पहिचान भएको उल्लेख गर्दै यसको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताए। उनले सरसफाई अभियानमा खटिएका सरसफाईकर्मीहरूको योगदानको उच्च प्रशंसा गर्दै भविष्यमा व्यवसाय सञ्चालन गर्न इच्छुक सरसफाईकर्मीहरूका लागि बुढानीलकण्ठ नगरपालिका वडा नं २ मा निर्माणको अन्तिम चरणमा रहेको तरकारी बजारमा आवश्यक स्थान उपलब्ध गराउन सहजिकरण गरिदिने प्रतिबद्धता जनाए।
त्यसैगरी नगर प्रवक्ता नवराज भट्टराईले २०७९ सालदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको धोविखोला सरसफाई अभियानले करिडोरलाई क्रमशः सफा, सुन्दर तथा हरियाली बनाउँदै लैजान महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।
नगरपालिकाले आगामी दिनहरूमा पनि नदी संरक्षण, सरसफाई तथा वातावरण संरक्षण सम्बन्धी कार्यक्रमहरूलाई निरन्तरता दिने र यो अभियानलाई दिगो बनाउन समुदायको सहभागिता अत्यन्त आवश्यक रहेको अजय बर्तौलाले बताए।
सरसफाई अभियानमा सहभागी सरसफाईकर्मीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै उनीहरूको एसटीडी तथा रगत परीक्षण हाल बुढानीलकण्ठ नगर अस्पताल मार्फत सञ्चालन भइरहेको जानकारी समेत दिइएको छ।











प्रतिक्रिया दिनुहोस्