Logo

बागमती पेज

११ चैत्र २०८२, बुधबार

बुढानिलकण्ठमा को बन्छ मेयर वक्तृत्वकला प्रतियोगिता हुने, प्रथमलाई ५० हजार पुरस्कार


काठमाडौं । बुढानिलकण्ठ नगरपालिकामा युवाहरूको नेतृत्व क्षमता र दृष्टिकोण उजागर गर्ने उद्देश्यले हाम्रो बुढानिलकण्ठ, मेरो सपना शीर्षकमा वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगितामार्फत सहभागीहरूले आफूलाई मेयरको रूपमा कल्पना गर्दै विकासका योजना, सपना र कार्यक्रम प्रस्तुत गर्न सक्नेछन्।

यस कार्यक्रमले बुढानिलकण्ठका युवाहरूलाई आफ्नो सोच र नेतृत्व क्षमता देखाउने साझा मञ्च प्रदान गर्ने आयोजक पुण्यराज पुडासैनीले बताए । उनले भने, हामी युवालाई केवल श्रोता होइन, नेतृत्व सोच राख्ने सक्रिय नागरिक बनाउने लक्ष्यका साथ यो कार्यक्रम ल्याएका छौं। यहाँ प्रस्तुत हुने विचारहरू नै भोलिको बुढानिलकण्ठ निर्माणको आधार बन्न सक्नेछ।

प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्वितीयले ३० हजार र तृतीयले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा विशेषगरी बुढानिलकण्ठमा स्थायी बसोबास गर्ने नागरिकलाई प्राथमिकता दिइने जनाइएको छ।

सीमित सिट भएकाले इच्छुक सहभागीलाई छिटो आफ्नो नाम दर्ता गरेर तयारीमा जुट्न आयोजक पुडासैनीको आग्रह छ। यो प्रतियोगिता युवाको सपना र योजनालाई सार्वजनिक रूपमा प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

आयोजक पुडासैनीले यसअघि विभिन्न कार्यक्रम समाचार लेखन कार्याशाला, उद्घोषण कला तालीम, टेक्सास टपर टक, भिएस भाइब्रेन्ट भ्वाइस, पद यात्रा लगायतका विभिन्न कार्यक्रम गर्दै आएका छन् । त्यसकारण को बन्छ मेयर कार्यक्रमलाई अर्थपूर्ण रुपमा हेरिएको छ।