काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकाका विभिन्न ७ स्थानमा ‘होमस्टे’ (घरवास सेवा) सञ्चालन गरिने भएको छ । आन्तरिक तथा बाह्य पर्यटक लोभ्याउन सम्भावित ठाँउमा होमस्टे संचालन गर्ने निती नगरपालिकाले लिएको हो ।
नगरले चालु आव ०७९/८० को निती तथा कार्यक्रममा नगर भित्रका वडा नं १ तौलुङ, ३ ठुलोगाउँ, ५ स्थित डाँडागाउँ, चिसिनी, लिपिकोट, ११ जगडोल र वडा नं १३ मा रहेको चुनिखेल लगायतका ठाउँमा होमस्टे संचालनका लागि स्थानीयलाई प्रोत्साहन गरिने उल्लेख छ ।
नगरपालिका भित्र आन्तरिक तथा बाह्य पर्यकट भित्र्याउन र व्यवसाय प्रवद्र्धनमा टेवा पु¥याउन नगरले होमस्टे संचालनको योजना ल्याएको नगर प्रमुख मिठाराम अधिकारीले बताएका छन् । उनले भने, “होमस्टे सेवा नगर भित्रका केही ठाउँमा संचालनमा आएका छन् उहाँहरुलाई प्रोत्साहन गर्न र अन्य स्थानमा होमस्टे संचालन गरेर धेरैभन्दा धेरै पर्यकट भित्र्याउन योजना अगाडी बढाएका हौँ ।”
बूढानीलकण्ठ शहर देखि गाउँसम्म फैलिएको स्थानीय तह हो । यहाँका कतिपय ग्रामिण बस्तिमा विषाधि रहित जैविक उत्पादन पाइन्छ । अर्गानिक परिकारको स्वादमा रम्ने र शहर नजिकैका गाउँघर घुम्नेको संख्या बढेको बुनपा ५ का वडासदस्य हेप्सिवा तामाङको भनाई छ । नगरले होमस्टेको योजना अघिसार्दा म मात्र होईन यहाँ व्यवसाय संचालन गर्ने व्यवसायीहरु उत्साहित बनेका छन् ।
नगर उपप्रमुख अनिता लामाले संचालनमा रहेका विभिन्न व्यवसाय प्रवद्र्धन गर्नको लागि यस किसिमको योजना अघि सारेको बताएकी छन् । उनले भनिन्, “नगर भित्रका विभिन्न पर्यटकिय स्थलको प्रचार गर्न र रोजगारीको अवसर नगरभित्रै जुटाउन हामीले होमस्टे अभियान अगाडी सारेका हौं । होमस्टे संचालनमा आएपछि स्थानीयको आम्दानिमा थप सहयोग पुग्ने हामीले विश्वास लिएका छौं ।”
डाँडागाउँ तथा चिसिनी लगायतका होमस्टे पुगेपछि त्यहाँको चिसो मौसमसँगै काठमाडौँको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । काठमाडौँको सुन्दरता हेर्दै सफा वातावरणमा विभिन्न लोकल खानेकुराहरु समेत पाईने हुँदा पर्यटकको आकर्षण बढ्न थालेको डाँडागाउँका होमस्टे व्यवस्थापक दोर्जे तामाङको भनाई छ ।
स्थानीयले सञ्चालन गर्ने घरवास सेवा प्रवद्र्धनकालागि नगरपालिकाले समेत योजना ल्याएपछि व्यवसायीहरु उत्साहित भएका छन् । नगरले यस अभियान थालनी गर्ने भएपछि व्यवसायमा थप आम्दानी हुने विश्वास रहेको बूढानीलकण्ठ–५ डाँडागाउमा होमस्टे संचालन गर्दै आएकी देवकी तामाङले बताईन् ।
सहर भित्रका ग्रामीण क्षेत्र भ्रमणमा जाने पर्यटकका लागि स्थानीय खाना परिकार, रहन सहनसहित घरघरमा खाने, बस्ने व्यवस्था होमस्टे हो । यसलाई परम्परागत संस्कृतिको आधुनिक रुप पनि मान्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्