काठमाडौँ । ललितपुर महानगरपालिका उपप्रमुख मञ्जली शाक्यले नेपाल संस्कृति र कला क्षेत्रमा धेरै अगाडी रहेको बताएकी छन् । विश्वसामु तुलना गर्दा अन्य देश भन्दा नेपाल कला संकृतिको क्षेत्रमा अगाडी रहेको बताएकी हुन् ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरबाट नेपालमा भएका कला र छिमेकी राष्ट्रमा भएको चित्रकलालाई एकै ठाउँमा राखेर विश्लेषण गर्न पाउँदा नेपालको गौरव बढेको उपप्रमुख शाक्यले बताएकी थिइन् ।
उनले भनिन्, “कला जोगाउनु भनेको देशको गौरव जोगाउनु हो । अन्य पेसालाई छाडेर नेपाली चित्रकला जोगाउन कलाकारहरू लागि पर्नुभएको कारण नै नेपालमा चित्रकला सफल भएको हो । यो कला जोगाएर नेपाल मात्र नभएर अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन हामी सफल हुनुपर्छ ।”
कार्यक्रममा नेपाल र भारतका कलाकारहरूले तयार पारिएका कलाहरू संयुक्त रूपमा अवलोकन गरे पश्चात् भारत देखि आउनुभएका प्रोफेसर डा. भारत भुसनले नेपाल र भारतको संस्कृति र प्रकृति मात्र एउटै नभएर दुई देश बिचको कला पनि उस्तै रहेको बताएका थिए ।
उनले भने, “कला भनेको नाचगान गर्नु, बाजा बजाउनु मात्र नभएर चित्रकला महत्त्वपूर्ण कला हो । कलाकारलाई आमाको रूपमा लिइन्छ । जसरी एउटा बच्चा आमाले ९ महिना कोखमा राखेकी हुन्छिन्, त्यसै गरी एउटा कलाकारले कलाको उजागर गर्नु अघि धेरै समय आफ्नो मन मस्तिष्कमा सोचेर राखेको हुन्छ ।”
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान चित्रकला विभाग प्रमुख सुस्मा राजभण्डारीले कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल र भारतले धार्मिक, सांस्कृतिक, राजनीतिक पक्षमा पहिला देखिनै सहकार्य गर्दै आएको उल्लेख गरिन् । विगतमा कलाकारिता क्षेत्रमा लागि परेका कलाकारहरूले अफ्ठेरो परिस्थिति भोग्नुपरे पनि अहिलेको समयमा सहजताको वातावरण बनेको समेत जिकिर गरिन् ।
कार्यक्रममा नेपाली २२ जना र भारतबाट आएका १० जना कलाकारहरूलाई सम्मान गरिएको थियो । चित्रकला प्रदर्शन ३ दिन सम्म चल्ने कार्यक्रम संयोजक किशोर नकर्मीले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्