Logo

बागमती पेज

बैशाख १६, २०८० शनिबार

चन्द्र भण्डारी भोलि स्वदेश फर्कने, उपचारमा सहयोग गर्नेप्रति आभार व्यक्त


काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारी बैशाख १७ गते आइतबार स्वदेश फर्कने भएका छन् । भारतमा उपचाररत नेता भण्डारीको सचिवालयले शनिवार एक विज्ञप्ति जारी गर्दै उपचारमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ ।

भण्डारीका स्वकीय सचिव बोधराज कँडेलद्वारा जारी विज्ञप्तिअनुसार भण्डारीले भारतको मुम्बईमा लैजान सहयोग गर्ने नेपाल सरकार, नेपाली कांग्रेससहित र अन्य पार्टीका नेता, काठमाडौंको वर्न अस्पताल कीर्तीपुर तथा भारतीय अस्पतालमा उनको उपचारमा संलग्न स्वास्थकर्मीहरु भारतमा रही विभिन्न पेसामा संलग्न नेपाली दाजुभाइ र भारतीय नेतागण, कुटनीतिज्ञ स्वदेश तथा विदेशमा रहेका शुभेच्छुकहरु, प्रवासी संघ संस्थाहरु, परिवारका सदस्यहरु, आफन्तजनहरु, स्वास्थ्य अवस्थाको लगातार अपडेट गरिरहने विभिन्न सञ्चारमाध्यम तथा पत्रकारहरु सबैमा हार्दिक आभार व्यक्त गरेका छन् ।

गत फागुन ३ गते राति बुद्धनगर आफ्नै निवासमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भएका डा. भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लागेका हुन् । भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत डा. भण्डारी आइतबार दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत् स्वदेश फर्कन लागेको डा. भण्डारी निकट कांग्रेस नेता माधव न्यौपानेले जानकारी दिए । उनी साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछन् ।

पछिल्लो समय डा. भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । उनी बोल्ने र हिँड्ने गर्न थालेका छन् । नेपाल फर्केसँगै डा. भण्डारीले घरमा बसेर फिजियोथेरापी गर्नुका साथै पोलेको घाउ ड्रेसिङ गर्न अस्पताल जानेछन् ।

आगलागीमा परी सांसद डा. भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएङ्का थिए । आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो ।